काठमाडौं । हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को ट्रेलर मुभिज ट्रेण्डिङ चार्टको पहिलो नम्बरमा आएको छ । शुक्रबार रिलिज भएको यो चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक गाउँले युवकले काठमाडौँ छिरेपछि गरेको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
आमा र छोराका भावनात्मक सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई समेटेको यो चलचित्रको ट्रेलरलाई आजसम्म दर्शकले २८ लाख ७५ हजार २ सय ८८ पटक हेरेका छन । ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने ट्रेलर हेरेका अधिकांश दर्शकले बल्छी धुर्बेको अभिनयको तारिफ गरेका छन ।
माघ १ गते रिलिज हुन लागेको यो चलचित्र उनी स्वयंम मुख्य भुमिकामा छन् । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा उनकै कथा छ। चलचित्रमा नायिका वर्षा शिवाकोटी, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतका कलाकारको अभिनय छ ।
शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको यो चलचित्र आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरकाहलहरूमा प्रदर्शन हुँदैछ ।



