काठमाडौँ । चालु आर्थिक वर्षको वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार ५९ वटा नयाँ उद्योगमा उक्त रकम प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता वैशाखमा आएको हो ।
त्यसपछि सबैभन्दा धेरै साउनमा ११ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा कम लगानी प्रतिबद्धता माघ र चैतमा आएको छ । माघमा ३४ करोड ५० लाख र चैतमा ९६ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
वैशाख १६ र १७ मा आयोजित तेस्रो लगानी सम्मेलनमै ९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, व्यावसायिक भवन निर्माण तथा सञ्चालनका लागि ३ अर्ब र २ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख रुपैयाँ र होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ लगानीको स्वीकृतिपत्र दिइएको थियो ।
सम्मेलनकै क्रममा सरकारले द्विपक्षीय लगानी सम्झौता (बीआईए) र स्वदेशी तथा विदेशी लगानीसम्बन्धी ८ वटा कानुन संशोधन गरेको थियो । विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली पनि ल्याएको थियो । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिने विभागले जनाएको छ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले जनाए ।
उक्त अटोमेटिक रुटबाट १९ दिनमा २१ वटा उद्योगमा २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको उनी बताउँछन् । ‘पहिला अनलाइनबाट भए पनि कर्मचारीले सबै डकुमेन्टेसन हेरेर लगानी स्वीकृत गरिन्थ्यो,’ उनले भने, ‘लगानी सम्मेलनमा स्वचालित मार्ग अर्थात् अटोमेटिक रुट लागू गर्यौं । जहाँ आवदेन दिनासाथ स्वतः स्वीकृत हुन्छ ।’ अटोमेटिक रुट प्रणाली पुनः सुरु गरेकाले पनि विदेशी लगानी प्रतिबद्धता बढेको उनको बुझाइ छ ।
चालु आर्थिक वर्षको ९ महिनामा ३० अर्ब ११ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ भित्रिएको छ । विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।



