काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेर रु १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन रहेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । यो अवधिमा रु आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ । गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई रु २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत
चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र देखिएको हो । प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३ दशमलव ७४, दाल तथा गेडागुडीको सात दशमलव ८०, फलफूलको छ दशमलव ८२ र गैर–मदिराजन्य पेय पदार्थको पाँच दशमलव १५ प्रतिशतले बढेको छ । तर, मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १७, तरकारीको एक दशमलव २४ र माछा तथा मासुको शून्य दशमलव ७४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव १४, कपडाजन्य तथा जुत्ताचप्पलको सात दशमलव ०१, मदिराजन्य पेय पदार्थको छ दशमलव ०७, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ५९ र यातायातको पाँच दशमलव ०७ प्रतिशतले बढेको छ ।
गत फागुन महिनासम्ममा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव १८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको तीन दशमलव ६० प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ६८, मधेशको तीन दशमलव ५२, बागमतीको दुई दशमलव ९८ प्रतिशत र गण्डकी प्रदेशको दुई दशमलव ७७ प्रतिशतले बढेको छ । त्यस्तै, लुम्बिनीको तीन दशमलव ७७, कर्णालीको तीन दशमलव ८० र सुदूरपश्चिम प्रदेशको चार दशमलव ४१ प्रतिशत रहेको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५, तराईको तीन दशमलव ७७, पहाडको तीन दशमलव ७२ र हिमालको चार दशमलव ७७ प्रतिशत छ ।



