Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु

कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु

बुधवार, पौष २४ २०८१
  • काठमाडौं ।  गैरकानुनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

    मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण कोइला बालेर सुत्दा उनीहरूको मृत्यु भएको हो ।

    images

    उनीहरूको मृत्युबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको थापामगरले बताए । दूतावासले पनि रोजगारदाता कम्पनीसँग समन्वय गरेर मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया थालिसकेको जनाएको छ । केही दिनअघि मात्र प्यूठानको सरुमारानी बस्ने २१ वर्षीया यानीसरा घर्ती मगरले कुवेतमै आत्महत्या गरेकी थिइन् ।

    यससँगै एक साताको अवधिमा कुवेतमा तीन जना घरेलु महिला कामदारले ज्यान गुमाएका छन् । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली महिला घरेलु कामदारले आफूलाई घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

    साउदीमा पनि सुतेकै ठाउँमा नेपाली कामदारको मृत्यु
    यसैगरी, रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवाको आफू सुतेकै स्थानमा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका–६ थपगाउँका ३८ वर्षीय अर्जुन सार्की रहेका छन् । सार्कीको राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

    उनी ३८ महिनाअघि काठमाडौंस्थित मोन्टेज म्यानपावरमार्फत साउदी पुगेका थिए । उनी त्यहाँको लजिस्टिक कम्पनीमा काम गर्दै आएका थिए । उनी कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

    मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन रियादस्थित नेपाली दूतावास, संघ संस्था र नेपाल सरकारसँग आग्रह गरेका छन् । मृत्यु भएको कारण भने खुल्न सकेको छैन । मृतकको घरमा आमा, श्रीमती र दुई सन्तान छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार