संयुक्त अरब इमिरेट्स युएईमा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ।
भरतपुर १५ सूर्यनगर चितवनका मोहन पुनको बाढीमा परी मृत्यु भएको नेपाली दुतावास आबुधावीले पुष्टी गरेको छ । २० महिना पहिले भिजिट भिसामा युएई आएर सारजाह र फुजेराह राज्यको सीमा क्षेत्रमा रहेको वेल क्याफे ओसुफ क्याफेमा कार्यरत मोहन बुधबार मध्यरातदेखि संपर्कविहीन भएका थिए ।
मंगलबार आफुहरु बस्दै आएको क्षेत्रमा वर्षा भएकोबारे आफ्नै फेसबूक मार्फत लाइभ गरेका मोहनले पुनः युएईको समय अनुसार राती १ बजे बाढी आएर आफूहरुलाई बगाउन लागेको आफ्नो श्रीमतीलाई म्यासेज गरेर जानकारी दिएका थिए । युएईका विभिन्न भागमा मंगलबार र बुधबार अविरल वर्षा भएको थियो । वर्षाका कारण केही भागमा डुबान तथा ओमानसँग बोर्डर जोडीएको क्षेत्र तथा चट्टान पहाडी क्षेत्रबाट आएको बाढी केही तटहरु तोडेर वस्तीभित्र छिरेको थियो ।
सोही बाढी सारजाहको अलमदाम क्षेत्रमा बस्दै आएका मोहन बस्ने बस्तीमा पसेर उनी सँगैं अन्य दुई घानाका नागरिकलाई समेत बगाएर लगेको र बुधबार दिउँसो २ बजे मात्रै ३ जनाको शव भेटेको कम्पनी संचालकले आफूहरुलाई जानकारी गराएको युएईमै कार्यरत मृतकका जेठान सुर्य रानामगरले नेपालप्रेस लाई जानकारी दिए । सुर्यका अनुसार मोहन अर्को महिना घरविदामा जाने तयारीमा थिए ।
मृतकको एक श्रीमती सहित ३ वर्षीया छोरीसमेत रहेको परिवारले जनाएको छ ।



