काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ६१५ नेपाली जेल परेका छन् ।
साउदी सरकारको कानुनविपरीत काम गरेको कारण ६१५ नेपाली विभिन्न जेलमा सजाय भोगिरहेका साउदीस्थित नेपाली दूतावासले जनाएको छ । विभिन्न मितिमा पक्राउ परेका नेपालीको यो तथ्यांक साउदी सरकारले नेपाली दूतावासलाई उपलब्ध गराएको हो ।
दूतावासका अनुसार अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् । साउदीमा रक्सी सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय हो । ५ महिनाअघि साउदीले राजधानी रियादमा कूटनीतिक क्षेत्रका अधिकारीलाई लक्षित गरी मदिराको पसल सञ्चालनमा ल्याए पनि खुला बिक्री गर्न पाइँदैन ।
मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा ३ सय ८८ जना जेल परेका दूतावासले जनाएको छ । यस्तै, १ सय २२ जना लागुऔषध ओसारपसार र ५३ जना चोरी मुद्दामा जेल परेका हुन् । उच्छृंखल भिडियो बनाउने, महिलालाई जिस्काउने तथा अन्य कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा ५२ जना नेपाली जेल परेका छन्।
साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि जाने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, पछिल्लो समय कार्यरत कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्ने नेपालीको संख्या पनि बढ्दो छ । साउदीमा कार्यरत कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १५ हजार बढी रहेको दूतावासको अनुमान छ ।
पछिल्ला् समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धड्पकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौ नेपालीहरू प्रभावित भएका छन् । जेल परेका कामदारहरूलाई सजाय अवधि समाप्त भएपछि आवश्य कानुनी प्रक्रिया पूरा गरेर पुनः साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरिएको छ ।



