काठमाडौं । विराटनगरको दुग्ध विकास संस्थान (डीडीसी)को दुग्ध वितरण आयोजना आसपासका बासिन्दाका लागि घरको आँगन र कोठाभित्रै कालो धुलो जम्नु दैनिक जीवनको समस्या बनेको छ।
दूध उमाल्न भुस बाल्दा निस्कने कालो धुलो र मसिना कण बस्तीभरि फैलिने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार घर सफा गरेको केही समयमै फेरि धुलो जम्ने गरेको छ। विराटनगर महानगरपालिका–३ र ४ का बासिन्दाले डीडीसीबाट निस्कने धुलोका कारण घरभित्रै बस्नसमेत असहज हुन थालेको बताए। घरका भित्ता, झ्याल, छत र आँगनमा कालो कण जम्नेमात्र नभएर बाहिर हिँड्दा खुट्टामा समेत धुलो लाग्ने गरेको
उनीहरूको भनाइ छ।
प्रदूषणको यस्तो अवस्थाले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दमका बिरामीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय बासिन्दा तथा युवा नेता मुकेश बुढाथोकीले प्रदूषण नियन्त्रणका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि समस्या जस्ताको तस्तै रहेको बताए। उनका अनुसार सुधार गर्ने आश्वासन दिइए पनि त्यसअनुसार परिणाम देखिएको छैन। ‘यसअघि पनि खबरदारी गरिएको हो। हामी सुधार गर्छौं भन्ने कुरा थियो। तर, अहिलेसम्म वास्ता गरिएको छैन। मानवीय स्वास्थ्यमा खेलवाड गरियो,’ बुढाथोकीले भने।
उनले रातिको समयमा उद्योगका मेसिन सञ्चालन हुने गरेको हुन सक्ने स्थानीयको आशंका रहेको बताए। बिहान घरबाहिर निस्कँदा कालो धुलोले घरका विभिन्न भाग ढाकिएको देखिने गरेको उनको भनाइ छ। ‘हिँड्दा खुट्टाभरि कालो धुलो लाग्छ। वरपरका मानिसमा स्वास्थ्य समस्या देखिन थाल्यो,’ उनले भने।
स्थानीयका अनुसार धुलोको समस्या बढ्दै जाँदा घर सफा गर्ने कामसमेत झन्झटिलो बनेको छ। दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको विषयमा सम्बन्धित निकायले गम्भीर चासो नदिएको उनीहरूको गुनासो छ। विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू यसको असरबाट सबैभन्दा बढी मारमा परेका छन्।
- विराटनगरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणले आसपासका बस्तीका बासिन्दा प्रभावित।
- विराटनगर महानगरपालिका–३ र ४ का घरका भित्ता, झ्याल, छत र आँगनमा कालो धुलो जम्ने समस्या।
- प्रदूषणको मात्रा मापन, वैज्ञानिक परीक्षण, नियमित अनुगमन र प्रभावकारी नियन्त्रण प्रणाली लागू गर्न स्थानीयको माग।
- दूध उमाल्न भुस बाल्दा धुलो निस्कने गरेको डीडीसीको स्वीकारोक्ति।
डीडीसीले भने भुस बाल्दा कालो धुलो र मसिना कण निस्कने गरेको स्वीकार गरेको छ। दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्माले संस्थान पुरानो र आसपासका बस्ती पछि विस्तार भएको बताए। ‘संस्थान पुरानो हो। बस्ती नयाँ हो,’ शर्माले भने। उनका अनुसार दूध उमाल्न भुस प्रयोग गरिने भएकाले त्यस क्रममा धुलो तथा मसिना कण निस्कने गरेका छन्। प्रदूषण कम गर्न फिल्टरको प्रयोगलगायतका उपाय अपनाइएको र थप प्रभावकारी विकल्पका बारेमा अध्ययन भइरहेको उनले बताए।
‘भुस बालेर दूध बोयलिङ गर्ने गरिएको छ। भुस बालेपछि कालो धुलो र मसिनो कण निस्किन्छ नै। प्रदूषणरहित बनाउन धेरै उपाय अपनाइएको छ। अझै त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ,’ शर्माले भने। तर, संस्थानले प्रदूषण नियन्त्रणका लागि गरिएका प्रयासले बस्तीमा फैलिने धुलो कति घटाएको छ भन्ने स्पष्ट विवरण दिन सकेन। समस्या पूर्ण रूपमा समाधान गर्न कति समय लाग्छ र तत्काल थप के उपाय अपनाइन्छ भन्ने विषयमा पनि स्पष्ट समयसीमा दिइएको छैन।
उद्योग पुरानो हो वा बस्ती पछि विस्तार भएको हो भन्नेभन्दा पनि अहिलेको सञ्चालनबाट निस्कने प्रदूषण नियन्त्रण कसरी गर्ने भन्ने प्रश्न स्थानीयले उठाएका छन्। बुढाथोकीका अनुसार उद्योग सञ्चालन भइरहँदा आसपासका नागरिकले स्वच्छ वातावरणमा बस्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आउनु हुँदैन। डीडीसीबाट निस्कने धुलो र मसिना कणको मात्रा मापन गरी त्यसले वातावरणमा पारेको असरको प्राविधिक मूल्यांकन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए। प्रदूषणको स्रोत, फैलावट र नियन्त्रणका लागि आवश्यक प्रविधिका बारेमा परीक्षण नगरी समस्या समाधान भएको निष्कर्षमा पुग्न नसकिने स्थानीयको भनाइ छ।
स्थानीयले डीडीसीसँगै विराटनगर महानगरपालिका, वातावरणसम्बन्धी निकाय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्। उनीहरूले नियमित अनुगमन, प्रदूषणको वैज्ञानिक परीक्षण र प्रभावकारी नियन्त्रण प्रणाली लागू गर्न माग गरेका छन्। दूध प्रशोधन र वितरणजस्तो अत्यावश्यक सेवा सञ्चालन गर्ने संस्थानले आफ्नो कामबाट आसपासका बासिन्दाको जीवन प्रभावित हुन नदिन पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने स्थानीयको भनाइ छ। अध्ययन भइरहेको जानकारी मात्र पर्याप्त नहुने भन्दै उनीहरूले प्रदूषण नियन्त्रणको परिणाम व्यवहारमै देखिनुपर्ने बताएका छन्।
घरभित्रै कालो धुलो जम्ने अवस्था कहिले अन्त्य हुन्छ ? भन्ने प्रश्न स्थानीयले उठाइरहेका छन्। डीडीसीले अपनाएका उपाय प्रभावकारी बनाएर बस्तीलाई प्रदूषणबाट जोगाउने जिम्मेवारी अब सम्बन्धित निकायले कसरी पूरा गर्नुपर्ने माग स्थानीयको छ। उनीहरूले प्रदूषण नियन्त्रणमा प्रभावकारी हिसाबले चासो नदिइएको गुनासो पनि गरे।



