Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रहरी स्टाफ कलेजलाई सामान्य परिमार्जन गर्न सिफारिस, पुस पहिलो साता प्रवेश परीक्षा

प्रहरी स्टाफ कलेजलाई सामान्य परिमार्जन गर्न सिफारिस, पुस पहिलो साता प्रवेश परीक्षा

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौँ । प्रहरी स्टाफ कलेजबारे अध्ययन गर्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी हेडक्वार्टरले डीआईजी विश्व अधिकारीको नेतृत्वमा स्टाफ कलेजको कोर्स लगायतका अवधारणा परिमार्जन गर्नेबारे अध्ययन गर्न भदौ १७ मा समिति गठन गरेको थियो ।

    केही दिनअघि समितिले सुझाव सहितको अध्ययन प्रतिवेदन आईजीपी दान बहादुर कार्कीलाई बुझाएको हो । समितिमा एसएसपी सोमेन्द्र सिंह राठौर, एसपी गजुसिद्धी बज्राचार्य र डीएसपी सुन्दर तिवारी सहित ७ जना सदस्य थिए ।

    images

    २०८२ वैशाख २१ मा प्रहरी प्रधान कार्यालयले प्रहरी स्टाफ कलेज अन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपिएस) र प्रोफेशनल लिडरसिप कोर्स लागु गरेको थियो । अध्ययन समितिले स्टाफ कलेजलाई सामान्य परिमार्जन गर्न सुझाव दिएको छ । अध्ययन समितिले यस वर्ष अन्तिम पटक २०७० मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरूलाई मात्र स्टाफ कलेजमा सहभागी गराउन सुझाव दिएको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् । सो ब्याचका अधिकृतहरूले यसअघि दुई पटक स्टाफ कलेजको प्रवेश परीक्षा दिइसकेका छन् । प्रहरी स्टाफ कलेजबाट पहिलो ब्याचमा १७ जना डिएसपीहरूले कोर्स पुरा गरेका छन् । अहिले दोस्रो ब्याचमा १५ जना अधिकृतहरू स्टाफ कलेज अध्ययन गरिरहेका छन् । स्टाफ कलेज ४ वटा सेमेस्टरमा पुरा हुन्छ । १५८ औँ समूहका अधिकृतहरूका लागी यस वर्ष स्टाफ कलेजको प्रवेश परीक्षा अन्तिम हुनेछ ।

    अध्ययन समितिको सुझावको आधारमा यस वर्ष २०७० मा भर्ना भएका अधिकृतहरूलाई मात्रै प्रवेश परीक्षामा सहभागी गराइने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले  बताए । उनले भने, ‘यसपटक २०७० मा भर्ना भएकाहरूले मात्र प्रवेश परीक्षा दिन्छन् ।’

    स्टाफ कलेजलाई कसरी प्रभावकारी बनाउने र प्रहरी ऐनमा नै व्यवस्थित गरेर त्यसलाई अघि बढाउनेबारे समितिले सुझाव दिएको डीआईजी काफ्लेले बताए । अध्ययन समितिले प्रतिवेदन बुझाएसँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रवेश परीक्षामा सहभागी हुने ६५ जना डिएसपीहरूको सूची प्रकाशन गरेको छ । उनीहरूसँग पुस पहिलो साता प्रवेश परीक्षा लिइने डीआईजी काफ्लेले बताए । उनले भने, ‘पुस पहिलो सातादेखि प्रवेश परीक्षा लिने गरी प्रक्रिया अघि बढेको छ ।’

    पहिलो ब्याचको प्रवेश परीक्षामा १३१ जना र दोस्रोमा ८९ जनाले प्रतिस्पर्धा गरेका थिए । यसअघि प्रतिष्ठानले आगामी मंसिर १८ देखि तेस्रो ब्याचका लागी प्रवेश परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेपनि विपद्को कारण देखाएर रद्द गरेको थियो । प्रवेश परीक्षामा चार वटा विषमा अनिवार्य ५० नम्बरको दरले २ सय अङ्क ल्याउनुपर्छ । त्यसबाहेक सिम्याटमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था छ । अध्ययन समितिले प्रवेश परीक्षा पास हुन आवश्यक अंकभार पनि परिमार्जन गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

    प्रवेश परीक्षामा धेरै अधिकृतहरू अनुत्तीर्ण भएपछि स्टाफ कलेजबारे प्रहरीमा गुनासो बढेको थियो । आईजीपी दान बहादुर कार्कीलाई अधिकृतहरूले त्यसबारे गुनासो गरेका थिए । पाठ्यक्रम जटिल भएका कारण धेरै अधिकृतहरू प्रवेश परीक्षामा नै अनुत्तीर्ण भएको प्रहरी कर्मचारीहरू बताउँछन् ।

    स्टाफ कलेजको निर्धारित कोटा अनुसार प्रत्येक वर्ष ३५ जना अधिकृतहरूको सहभागिता सुनिश्चित गर्न समितिले सुझाव दिएको छ । एउटा शैक्षिक सत्रमा ३५ जनालाई स्टाफ कलेजको कोर्स गराउने गरी सरकारले कार्यक्रम स्वीकृत गरेपनि पहिलो ब्याचमा १७ जना र दोस्रो ब्याचमा १५ जना मात्रै उत्तीर्ण भएपछि त्यसमा परिमार्जनको आवश्यकता देखिएको प्रहरी प्रवक्ता डीआईजी काफ्लेले बताए।

    महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भइरहेको स्टाफ कलेज १६ महिना सञ्चालन हुन्छ । १५८ औँ समूहका इन्स्पेक्टर र त्यसपछि भर्ना भएकाहरूले स्टाफ कलेज नगरे नेतृत्वमा पुग्न सक्दैनन् । स्टाफ कलेज नगरेकाहरु डीआईजीमा बढुवा हुन पाउँदैनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार