काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेका छन्।
संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई छिटो बनाउने र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रस्तावित राजदूत सुनारले सन् २०२७ मा नेपाल र साउदी अरेबियाबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (गोल्डेन जुब्ली) मनाउन लागिएको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दाबी गरेका छन्।
हाल साउदीमा करिब ३ लाख ८५ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ। सुनारले विशेष गरी श्रम सम्झौताको अभाव र ‘हुरुब’ (कामदार भागेको आरोप) लगायतका कारणले नेपाली कामदारले भोग्नुपरेको सास्तीबारे चासो व्यक्त गरेका छन्।
आफ्नो ‘१०० दिने कार्ययोजना’ सार्वजनिक गर्दै उनले पहिलो ३० दिनभित्र त्यहाँका पेन्डिङ मुद्दाहरूको अडिट गर्ने र कामदारको राहदानी नवीकरण तथा प्रमाणीकरणमा देखिएको झन्झट अन्त्य गर्न अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने उल्लेख गरे। उनले राहदानी वितरणलाई छिटो बनाउन राष्ट्रिय परिचयपत्रको विवरणसँग कनेक्ट गर्ने तथा दूतावासमा अरेबिक भाषा जान्ने दोभासे कर्मचारीको व्यवस्था गर्ने योजना अघि सारेका छन्।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै उनले साउदी अरेबियाको नियोम, रेड सी र किदिया जस्ता मेगा प्रोजेक्टहरूमा नेपाली दक्ष कामदारको सहभागिता बढाउने र नेपालमा साउदी लगानी आकर्षित गर्ने बताए। हाल दुई देशबीच रहेको व्यापार घाटा कम गर्न र दोहोरो कर प्रणाली (डबल ट्याक्सेसन) को समस्या समाधान गर्न पहल गर्ने पनि उनले स्पष्ट पारेका छन्। यसैगरी, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई हालको भन्दा छोट्याएर ७ दिनभित्र सक्ने गरी काम गर्ने उनको प्रतिबद्धता रहेको छ।



