Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युक्रेनमा अमेरिकी कम्पनीमाथि रुसी आक्रमण, ट्रम्प प्रशासन भने मौन

युक्रेनमा अमेरिकी कम्पनीमाथि रुसी आक्रमण, ट्रम्प प्रशासन भने मौन

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौँ । युक्रेनमा रहेका अमेरिकी कम्पनीका कारखाना तथा गोदाममा रुसले ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन भने मौन रहेको छ । अमेरिकी कम्पनीका व्यावसायिक हितको रक्षा गर्ने दाबी गर्दै आएको प्रशासनले रुसी आक्रमणको सार्वजनिक रूपमा आलोचना नगरेको भन्दै प्रश्न उठ्न थालेको छ।

    सिएनएनका अनुसार पछिल्ला केही महिनामा रुसले युक्रेनमा अमेरिकी कम्पनीसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ । यसबाट कोकाकोला, पेप्सिको, म्याकडोनाल्ड्स र ओरियो जस्ता चर्चित अमेरिकी ब्रान्डसँग सम्बन्धित संरचनामा क्षति पुगेको छ।

    images

    युक्रेनस्थित अमेरिकी चेम्बर अफ कमर्सका अध्यक्ष एन्डी हन्डरका अनुसार अमेरिकी कम्पनीका संरचनामा ड्रोन र क्षेप्यास्त्रबाट पटक–पटक आक्रमण भइरहेको छ । उनले यो अमेरिकी लगानी र व्यावसायिक हितमाथिको प्रत्यक्ष प्रहार भएको बताउँदै ह्वाइट हाउसबाट कुनै प्रतिक्रिया नआएकोमा असन्तुष्टि जनाएका छन्।

    गत सेप्टेम्बर ३ मा किएभनजिकै रहेको कोकाकोलाको कारखानामा रुसी ड्रोनले आक्रमण गरेको थियो । त्यसबेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई अमेरिकाका लागि स्पष्ट सन्देश भन्दै रुसी पक्षलाई अमेरिकी कम्पनीमाथि आक्रमण भइरहेको थाहा नभएको हुन नसक्ने बताएका थिए।

    त्यस्तै, सेप्टेम्बर २५ मा किएभ क्षेत्रमा म्याकडोनाल्ड्सका लागि प्रयोग हुने गोदाममा रुसी ड्रोन आक्रमण भएको थियो। त्यसबाट भएको क्षतिका कारण युक्रेनका म्याकडोनाल्ड्स रेस्टुरेन्टहरूले सीमित परिकार मात्र उपलब्ध गराउनुपरेको कम्पनीले जनाएको छ । अगस्टको अन्त्यमा माइकोलाइभ क्षेत्रमा रहेको पेप्सिकोको उत्पादन केन्द्रमा पनि क्षति पुगेको थियो । उक्त घटनामा मानवीय क्षति भने नभएको कम्पनीले बताएको छ।

    अमेरिकी कम्पनीमाथिका आक्रमणबारे केही अमेरिकी डेमोक्रेटिक सांसदले ट्रम्प प्रशासनलाई थप कदम चाल्न र मस्कोको आलोचना गर्न आग्रह गरेका छन् । तर, आक्रमणको सार्वजनिक चर्चा गर्दा व्यावसायिक हितमा असर पर्न सक्ने चिन्ताका कारण केही कम्पनी भने बोल्न सावधान रहेको एक पूर्व अमेरिकी विदेश मन्त्रालयका अधिकारीले बताएका छन्।

    यसबीच, ट्रम्प प्रशासनले भने युक्रेनलाई रुसी ऊर्जा संरचनामाथिका आक्रमण रोक्न दबाब दिँदै आएको छ । ट्रम्पले यस्ता आक्रमणले इन्धनको मूल्य बढाएको आरोप लगाएका छन् । युक्रेनले रुसी ऊर्जा संरचनामाथि आक्रमण जारी राखे अमेरिकाले गुप्तचर सूचना साझेदारी र हतियार आपूर्ति सीमित गर्न सक्ने चेतावनीसमेत दिएको सिएनएनले जनाएको छ।

    अमेरिकी चेम्बर अफ कमर्सले युक्रेनमा अमेरिकी व्यवसायको अवस्थाबारे छलफल गर्न ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ र जारेड कुशनरसँग भेट मागेको थियो । तर, अध्यक्ष हन्डरका अनुसार त्यसको कुनै जवाफ आएको छैन। सिएनएनका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले भने ट्रम्प प्रशासन रुस–युक्रेन युद्ध अन्त्य गर्न र शान्ति सम्झौता गराउन प्रतिबद्ध रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार