काठमाडौं । भारतको विपक्षी दल कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोज जनता पार्टी (सीजेपी) का नेता सौरव दास र आशुतोष रांकालाई पाँच दिनको न्यायिक हिरासतमा पठाइएको घटनाको निन्दा गरेका छन् । उनले शान्तिपूर्ण प्रदर्शनमा राष्ट्रिय झन्डा फहराउनु अपराध नभएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै गान्धीले राष्ट्रिय झन्डा फहराएको कारण युवालाई जेलमा राख्नु कायरतापूर्ण कार्य भएको बताए । विद्यार्थी, युवा, पत्रकार र विपक्षी गठबन्धनका विभिन्न समूहले नागरिकका संवैधानिक अधिकारको माग गरिरहेको उल्लेख गर्दै उनले दिल्लीको जन्तरमन्तर जनताको विरोध प्रदर्शन गर्ने ठाउँ भएको र त्यसलाई पुनः जनताले प्रयोग गर्ने वातावरण बनाइने बताए।
आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पनि सीजेपी नेताहरूको गिरफ्तारीको आलोचना गरेका छन् । आफ्नै देशमा आफ्नै राष्ट्रिय झन्डा फहराउनु अपराध हो भन्दै उनले सरकारको कदमप्रति प्रश्न उठाएका छन्।
प्रहरी स्रोतका अनुसार दास र रांकालाई शान्ति कायम राख्ने प्रतिबद्धता उल्लङ्घन गरेको र अनुमति नलिई जन्तरमन्तर प्रवेश गरेको आरोपमा पाँच दिनको न्यायिक हिरासतमा पठाइएको हो । उनीहरूलाई बुधबार तिहाड जेलमा राखिएको छ । उनीहरूका सहयोगी आजिक्य शिन्देको धरौटीसम्बन्धी प्रक्रिया भने अघि बढिरहेको बताइएको छ।
मंगलबार दास, रंका र शिन्देलाई जन्तरमन्तरमा लगाइएको अवरोध तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको थियो । उनीहरूले भारतीय प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नाराबाजी गरेका थिए।
प्रहरीले उनीहरूमाथि अनधिकृत प्रवेश, निषेधाज्ञा उल्लङ्घन, शान्ति कायम राख्ने प्रतिबद्धता तोडेको र सरकारी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको लगायतका आरोपमा मुद्दा दर्ता गरेको छ । दास र रांकाले शनिबारको प्रदर्शनका क्रममा पक्राउ परेपछि एक वर्षसम्म शान्ति कायम राख्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।
यो घटना मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा मागेर सीजेपीसहित विभिन्न संगठनले गरिरहेका प्रदर्शनका बीच भएको हो।
सीजेपीका संस्थापक अभिजित दिप्केले सरकारमाथि असहमतिका आवाज दबाउन खोजेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोध प्रदर्शन रोक्ने उद्देश्य भए औपचारिक रूपमा संकटकाल घोषणा गर्न चुनौती दिएका छन्।
यसैबीच, दिल्ली प्रशासनले सोमबारदेखि जन्तरमन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाएको छ । त्यसको सट्टा रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानलाई प्रदर्शनका वैकल्पिक स्थल तोकिएको छ। भारतीय गृह मन्त्रालयले नागरिकलाई विरोध प्रदर्शन गर्ने अधिकार प्रयोग गर्न दिन वैकल्पिक स्थल पहिचान गर्न समिति गठन गरेको र सोही समितिको सिफारिसका आधारमा जन्तरमन्तरको मान्यता हटाइएको बताइएको छ।



