Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

दुबईमा दुईतले बस हाँकिरहेकी साहसी शान्ति

दुबईमा दुईतले बस हाँकिरहेकी साहसी शान्ति

वैदेशिक रोजगारीका लागि दुबईमा कार्यरत नेपाली चेली शान्तिकुमारी भण्डारीको सर्घष अनि सफलताको कथा

सोमवार, भाद्र १० २०८१
  • दुबईमा दुईतले बस हाँकिरहेकी छिन्, नेपाली साहसी महिला शान्तिकुमारी भण्डारी । ९ वर्ष पहिले सन् २०१५ मा भिजिट भिसा मार्फत यूएई पुगेकी उनको दृढ संकल्प, लचिलोपन, अटल महत्वाकांक्षाले मध्यपूर्वकै पहिलो डबल–डेकर (दुईतले) बस चलाउन सफल भईन् ।

    भण्डारीले अहिले मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो डबल–डेकर बस चलाउने नेपाली महिलाको उपाधि समेत पाएकी छिन् ।

    images

    दुबईका चिल्ला अनि फराकिलो सडक । सडकभरी सवारी साधन । त्यही व्यस्त लाइनमा दुबईमा आउने पर्यटक बोक्ने दुईतले बस । बसका दुई तलामा दुबई घुम्न आएका पर्यटकहरु भरिभराउ छन् । त्यही बस हाँक्छिन्, शान्ति । नेपाली महिला त्यो पनि विग बस चलाएको देखेर घुम्न दुबई आउने पर्यटकहरु हर्षित हुँदै शान्तिसँग सेल्फी खिच्न लाइन लाग्छन् । अहिले विभिन्न देशका सञ्चारमाध्यममा पनि शान्तिका संघर्ष र सफलताका विषयले प्राथमिकता पाइरहेको छ ।

    thumb (1).jfif

    बहिनीले पठाएको भिजिट भिसामा नेपालको ओखलढुंगाबाट युएईको यात्रा तय गरेकी उनले सुरुमा ब्युटिसियनका रूपमा न्यूनतम तलबमा सैलुनमा काम गरिन् । तर शान्तिले यूएईको लाइसेन्स पाउन सैलुनको कामले मात्र पुग्दैन थियो । उनले आफुले गर्दै गरेको काम छोडेर एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम गरिन्  ।

    उनले सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गरिन् र अल गजल यातायातको ट्याक्सी चालकको रूपमा यूएईको राजधानी आबुधावीमा नयाँ रोजगारी थालिन् । ५ वर्षजति ट्याक्सी चलाएपछि उनको मनोबल सँगसगै महत्वाकांक्षा बढ्दै गयो र उनले  हेभी बस लाइसेन्स प्राप्त गर्न सोच बनाईन् । यो क्षेत्रमा महिलाहरू सहभागी नभएकाले शान्तिका आफन्तहरूले नै यसमा शंका व्यक्त गरे । धेरै संघर्षपछि उनी बसको फाइल खोल्न सफल भइन् । पछि अन्तर्वार्ता पनि दिइन् र पास पनि गरिन् । उनले सफलतापूर्वक हेभी बसको लाइसेन्स पहिलो ट्रायलमै प्राप्त गरिन् ।

    ‘मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने प्रथम नेपाली महिला भएकोमा गर्व लाग्यो । धेरै नेपाली दिदीबहिनी तथा विदेशी महिला कामदार यसबाट प्रेरित हुने विश्वास छ ।’ शान्तिले भनिन् ।

    त्यसपछि उनले यूएईको राजधानी अबुधावीको सिटी बस चलाउन आवेदन दिएकी थिइन् र अन्तर्वार्तामा पनि सफल भइन् । उनले ड्राइभिङ टेस्टमा समेत सफलता प्राप्त गरेकी थिइन् तर महिला बस चालकका लागि सिटी बसमा पोलिसी/नीति नभएका कारण राजधानी अबुधाबी बस चलाउन उनले दिएको आवेदन रिजेक्ट भयो । हालसम्म महिलालाई चालकका रूपमा राख्ने नगरेको भन्दै उनलाई लिन अस्वीकार गरियो ।

    shanti-dubai-big-bus-3.jpg

    उनी भन्छिन्– ‘त्यसपछि मलाई धेरै तनाव भयो, तर पनि हार मानिनँ, अरू कम्पनी खोज्न थालें’, उनले पर्यटन क्षेत्रमा नयाँ रेकर्ड राख्ने लक्ष्यका साथ बिग बस टुर्समा आवेदन दिइन् । सुरुमा पर्यटन क्षेत्रले पनि महिला डबल डेकर बस चालक स्वीकार गरेन । त्यतिबेलासम्म मध्यपूर्वकै पर्यटन क्षेत्रमा कुनै महिला बस चालक थिएनन् ।

    ‘बिग बस कम्पनीमा पुगेर आफ्नो बायोडाटा गेटमै छाडेर फर्किएँ,’ भण्डारीले भनिन्– ‘भोलिपल्टै म्यासेज आयो, त्यसपछि बिग बस टुर्स मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीससँग भेट भयो । उनले प्रारम्भिक अवरोेधलाई मार्ग प्रशस्त गरेर मलाई इतिहास रच्ने अवसर प्रदान गरे ।’ उनको सहयोगमा मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा स्वीकृति प्राप्त भयो ।

    यस क्षेत्रमा महिलाहरूले गर्दै नगरेको काम त्यो पनि सुरुमा ब्युटिसियनका रूपमा छिरेकी शान्तिले ट्याक्सी चालक हुँदै डबल डेकर हाँक्न थालेको अहिले १ वर्ष भयो । मध्यपुर्वको पर्यटकिय क्षेत्रमा पहिलो महिला डबल डेकर बस चालक भएको थाहा पाउँदा आँफैलाई गर्व लागेको शान्ति सुनाउँछिन् । शान्ति अहिले डबल–डेकर बस चालक बनेर चर्चा बटुल्न सफल भएकी छिन् । यति मात्रै नभइ शान्ति सामाजिकका अलवा खेल क्षेत्रमा पनि आफुलाई अभ्यस्त राख्दै आएकी छिन् । उनले यूएईमा समस्यामा परेका थुप्रै नेपालीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्छिन् । हालै कोरियामा सम्पन्न मयोङ हान्मादाङ तेक्वान्दो प्रतियोगिता-२०२४ मा सहभागी भएकी थिईन् ।

    मध्यपूर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबल डेकर बस चालकको रूपमा शान्तिका सफलता सबैको लागि प्रेरणाको स्रोत हो । दृढ सङ्कल्पका साथ सपनाहरू पछ्याउँदा कठिन बाधाहरू पार गर्न सकिन्छ, भन्ने गतिलो उदारहण हो शान्तिकुमारी भण्डारी । जुन जोस र  दृढ सङ्कल्पका प्रेरित हुँदा परिवर्तन सम्भव छ भन्ने सङ्केत गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार