काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानबारीमा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको चर्चित भाले हात्ती ‘सानो दाह्रे’ मृत फेला परेको छ।
डिभिजन वन कार्यालय गाईघाटका अनुसार आरक्ष क्षेत्रबाट करिब एक किलोमिटर दूरीमा रहेको धानबारीमा मंगलबार दिउँसो वयस्क हात्ती मृत अवस्थामा भेटिएको हो।
स्थानीयवासीमाझ ‘सानो दाह्रे’ नामले परिचित उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु क्षेत्रमा बस्दै आएको थियो।
हात्तीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। वास्तविक कारण पत्ता लगाउन पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिएको वन कार्यालयले जनाएको छ। शव परीक्षणको प्रतिवेदन आएपछि मात्रै मृत्युको कारण स्पष्ट हुने कार्यालयले जानकारी दिएको छ।


