Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

पुनः श्रम स्वीकृतिबिनै विदेश, विमानस्थलमा घुस

पुनः श्रम स्वीकृतिबिनै विदेश, विमानस्थलमा घुस

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । पुनः श्रम स्वीकृतिबिना वैदेशिक रोजगारीमा जान लागेका एक श्रमिकसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सका एक कर्मचारीले घुस लिएको सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मिनबहादुर रावतसँग घुस लिएको आरोपमा हिमालयन एयरलाइन्सका कर्मचारी हंशराज जैशीलाई नियन्त्रणमा लिइएको छ

    अध्यागमन कार्यालयका अनुसार सोमबार वैदेशिक रोजगारीमा जान लागेका राहदानी नम्बर पिबी ०२४९२८४ भएका मिनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भएको पाइएको थियो । जैशीले पुनः श्रम स्वीकृति गराउनुपर्ने भन्दै रावतसँग १४ हजार रुपैयाँ लिएको पाइएको कार्यालयले जनाएको छ।

    images

    अध्यागमन कार्यालयद्वारा जारी विज्ञप्तिमा सिसिटिभी फुटेजमा पनि जैशीले सहजीकरणका नाममा रावतसँग शंकास्पद गतिविधि गरेको देखिएको उल्लेख छ । अध्यागमन कार्यालयले अनुसन्धानका क्रममा रावतले इसेवामार्फत जैशीको मोबाइल नम्बरमा १४ हजार रुपैयाँ पठाएको देखिएको जनाएको छ।

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चेपुवामा पारेर रकम असुली गरिएको यो पहिलो घटना भने होइन । यसअघि कुवेत जाने श्रमिकको श्रम स्वीकृति नवीकरण नभएको घटनामा २८ हजार रुपैयाँमा मोलमोलाइ गरेर २३ हजार रुपैयाँ असुली गरिएको घटना सार्वजनिक भएको थियो।

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिबिना कुवेत पुगेका श्रमिकले दीपक मल्ल नामका व्यक्तिको एनआइसी एसिया बैंकको क्युआरमा घुसबापत २३ हजार रुपैयाँ पठाएको बताएका थिए।

    बिदामा नेपाल आएर पुनः श्रम गन्तव्यमा फर्किँदा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । बिमा, अभिमुखीकरण, स्वास्थ्य परीक्षण र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेपछि वैदेशिक रोजगार विभागले अनलाइन आवेदनका आधारमा पुनः श्रम स्वीकृति दिने गरेको छ । कहिलेकाहीँ विभागको अनलाइन प्रणालीमा समस्या आउने र कतिपयलाई पुनः श्रम स्वीकृति लिनुपर्छ भन्ने जानकारी नहुने भएकाले श्रमिक पुनः श्रम स्वीकृतिबिना नै विमानस्थल पुग्ने गरेका छन्।

    यसैबीच, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।

    प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट २ लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै ५ लाख रुपैयाँ लिएको आरोप छ।

    उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार