Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएसँगै नेपाल वायुसेवा निगमले काठमाडौँ–गुल्मी हवाई उडान पुनः सुरु गरेको हो।

    रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई सेवा अवरुद्ध भएको थियो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडानमा जोखिम हुन सक्ने भएपछि सेवा रोक्नुपरेको उनले बताए।

    images

    हवाई सेवा पुनः सञ्चालन भएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु लिएर विमान गुल्मीमा अवतरण गरेको थियो। गुल्मीबाट भने दुई जना यात्रु बोकेर विमान काठमाडौँ फर्किएको छ।

    नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएमा सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। लामो समयदेखि हवाई सेवा बन्द हुँदा विशेषगरी वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले काठमाडौँ जानुपर्ने यात्रु समस्यामा परेका थिए।

    निगमले रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्विनअटर विमानमार्फत उडान गर्दै आएको छ । नयाँ तालिकाअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे तथा रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ८ः१५ बजे उडान हुनेछ । त्यस्तै, शुक्रबार काठमाडौँबाट बिहान ६ः२० बजे र रेसुङ्गाबाट बिहान ७ः२० बजे उडान गर्ने व्यवस्था मिलाइएको छ।

    निगमले काठमाडौँबाट गुल्मीका लागि प्रतियात्रु १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौँका लागि १० हजार ५१० रुपैयाँ हवाई भाडा निर्धारण गरेको छ।

    हवाई सेवा सञ्चालनमा आएसँगै गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। सडकमार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकले हवाई सेवामार्फत ४५ देखि ५० मिनेटमै राजधानी आवतजावत गर्न सक्नेछन्।

    नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक हवाई सेवा सुरु गरेको थियो । यद्यपि, पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति तथा आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या घट्दै गएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार