काठमाडौं । पूर्वाधार विकास मन्त्रीका रूपमा सुनिल लम्सालको आगमनपछि सुस्ताएको र समस्याग्रस्त बनेको देशको निर्माण क्षेत्रले नयाँ गति लिएको निर्माण व्यवसायीले जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले मन्त्री लम्सालले पदभार ग्रहण गरेसँगै लामो समयदेखि थन्किएका जटिल समस्या, कानुन संशोधन र रोकिएका भुक्तानीहरूलाई द्रुत गतिमा सम्बोधन गरेर ‘कोमा’ मा पुगिसकेको निर्माण क्षेत्रलाई पुनः चलायमान बनाई ‘प्राण’ थप्ने काम गरेको बताएका छन् ।
उपाध्यक्ष खड्काका अनुसार खरिद नियमावलीका दोस्रो संशोधन लगायतका विषयमा महासंघले राख्दै आएका मुख्य मागहरूलाई मन्त्री लम्सालले सहजै सम्बोधन गरिदिएका हुन् ।
त्यसैगरी विगतमा मन्त्रालयबाट झेल्नुपरेका रकमान्तरका झन्झटहरू र रकम नपाएर अलपत्र परेका योजनाहरूका लागि सम्बन्धित मन्त्रालयबाटै बजेट व्यवस्थापन र रकमान्तरको मिलाउने काम भएको छ ।
सरकारले ‘एभरेज बिड’ सम्बन्धी व्यवसायीका माग सम्बोधन गर्नुका साथै हालै मन्त्रिपरिषद्बाट ‘मूल्य समायोजन कार्यविधि’ स्वीकृत गराउन मन्त्री लम्सालले मुख्य भूमिका खेलेको महासंघको भनाइ छ । यसले गर्दा लामो समयदेखि अन्योलमा परेका र काम ठप्प भएका विकास निर्माणका आयोजनाहरूलाई अघि बढाउन ठूलो बाटो खुलेको छ ।
उनले इरान–अमेरिका द्वन्द्व जस्ता बाह्य कारणले बिटुमिन (अलकत्रा) को मूल्य दोब्बरभन्दा बढी र डिजेलको मूल्य करिब ७५ प्रतिशतसम्म बढेको बताएका थिए । यस विषम परिस्थितिमा मन्त्री लम्सालको पहलले बैंकिङ समस्या र अर्कातिर अस्वाभाविक परिस्थितिमा भेरिएसन, म्याद थप र मूल्य समायोजनका झञ्झट फुकाएर मन्त्री लम्सालले पूर्वाधार क्षेत्रलाई चलायमान बनाएको खड्काले उल्लेख गरे ।
नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री लम्सालको कार्यशैली तथा गतिको प्रशंसा गर्दै महासंघले हार्दिक आभार व्यक्त गरेको छ । ‘सुखी नेपाल, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य पूरा गर्न पूर्वाधार क्षेत्र नै मुख्य मेरुदण्ड भएको भन्दै महासंघले आगामी दिनमा बाँकी रहेका केही सानातिना बाधा–अड्चन फुकाउँदै सरकारसँग काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।



