काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन सुरु गरेको छ । छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले उनलाई निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारका विषयमा उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय गम्भीर र संवेदनशील रहेको उल्लेख छ । यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने भन्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।
सुनारसँग सम्बन्धित विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चालिने रास्वपाले जनाएको छ । कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीको भनाइ छ।



