Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रस्तावित राजदूत जोशीलाई सांसद चौलागाईंको प्रश्न : दाताकेन्द्रित सोचबाट मुक्त भई नेपालको राष्ट्रिय हितमा कसरी काम गर्नुहुन्छ ?

प्रस्तावित राजदूत जोशीलाई सांसद चौलागाईंको प्रश्न : दाताकेन्द्रित सोचबाट मुक्त भई नेपालको राष्ट्रिय हितमा कसरी काम गर्नुहुन्छ ?

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीलाई कूटनीतिक मर्यादा कायम राख्दै दाताकेन्द्रित सोचबाट मुक्त भएर देशको स्वार्थमा केन्द्रित हुन सुझाव दिएका छन्।

    मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले जोशीको कार्ययोजना र कूटनीतिक क्षमतामाथि विभिन्न प्रश्न उठाएका हुन्।

    images

    सांसद चौलागाईंले प्रस्तावित राजदूत जोशीको विगतको संयुक्त राष्ट्रसङ्घ (यूएन) लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेको कार्यअनुभवलाई औँल्याउँदै कूटनीतिक तटस्थता र राष्ट्रिय स्वार्थको मुद्दा उठाएका छन्। उनले दाताकेन्द्रित सोचबाट मुक्त भई नेपाललाई केन्द्रमा राखेर जर्मनीसँग कूटनीतिक सम्बन्ध कसरी अघि बढाउने भन्दै प्रश्न गरेका छन्।

    यस्तै सांसद चौलागाईंले बोनस्थित नेपाली दूतावासको पुरानो भवनको व्यवस्थापनबारे चासो व्यक्त गरेका छन्। सन् १९९९ देखि बर्लिनमा भाडामा बस्दै आएको नेपाल सरकारले २०७६ सालमै बोनको भवन बिक्री गर्ने निर्णय गरे पनि कानुनी र प्राविधिक झमेलाका कारण हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन। यसले राज्यको ठुलो रकम अतिरिक्त खर्च भइरहेको भन्दै उनले प्रस्तावित राजदूतसँग यो जटिलता समाधान गर्ने स्पष्ट समयसीमा र कार्ययोजना मागेका छन्।

    यसका साथै नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा कालोसूचीबाट हटाउने पहल, बौद्धिक जनशक्ति पलायन (ब्रेन ड्रेन) नियन्त्रण गर्ने उपाय र जलवायु कोषबाट नेपालले लिन सक्ने लाभका विषयमा पनि उनले जोशीको कार्यक्षमतामाथि संशय व्यक्त गरेका छन्।

    सांसद चौलागाईंले भने, ‘संयुक्त राष्ट्रसङ्घबाट सन् २०१८ मा अवकाश लिएपछि यहाँले कुनै राष्ट्रको नियुक्तिमा रहेर काम गर्नुभएको छ कि छैन ? दाता राष्ट्रहरूसँग काम गरेको अनुभवका आधारमा, जर्मनीसँगको सम्बन्धमा दाताकेन्द्रित सोचबाट मुक्त भई नेपालको राष्ट्रिय हित, भू-राजनीतिक संवेदनशीलता र सामाजिक मौलिकतालाई प्राथमिकता दिँदै कसरी काम गर्नुहुन्छ?’

    जर्मनीमा नेपाली दक्ष तथा प्राविधिक जनशक्ति पठाउँदा देशलाई घाटा पुग्ने अवस्था आएमा कस्तो धारणा रहने र युरोपियन युनियनको कालोसूची हटाउन के ठोस पहल हुनेछ भन्दै उनले प्रश्न गरे। साथै बोनस्थित नेपाली दूतावासको भवन तथा जग्गाको कानुनी जटिलता समाधान गरी बर्लिनमा भइरहेको अतिरिक्त भाडा खर्च अन्त्य गर्न पदभार ग्रहण गरेको कति समयभित्र समस्या समाधान हुनेछ भनी उनले समयसीमा मागेका छन्।

    विगतका राजदूतहरूले निकै राम्रा कार्ययोजना प्रस्तुत गरे पनि कार्यकालमा केवल औपचारिक कार्यक्रममा मात्र सीमित हुने गरेको उल्लेख गर्दै सांसद चौलागाईंले जोशीलाई नतिजामुखी काम गर्न सचेत गराएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार