काठमाडौँ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको भ्रमण गरेका छन्।
भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीसँग भेटघाट गरेर गाउँपालिकामा सञ्चालित विकास निर्माण, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिएका छन्। नाम्ख पुगेका मन्त्री मल्ल नेतृत्वको टोलीलाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले स्वागत गरेका छन्।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले हालसम्म सञ्चालन भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी गतिविधिबारे जानकारी मन्त्री मल्ललाई जानकारी गराएका छन्। विशेषगरी स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर सुधार, सडक तथा अन्य भौतिक पूर्वाधार विकासका क्षेत्रमा सहयोग गर्न मन्त्री मल्ल समक्ष विभिन्न माग शाहीले आग्रह गरेका थिए।
स्थानीय तहबाट प्राप्त माग तथा समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने मन्त्री मल्लले प्रतिबद्धता जनाएका छन्। उनले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकले उठाएका विषयलाई सम्बोधन गर्न आफूले पहल गर्ने बताएका हुन्।
हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका भौगोलिक विकटताका कारण सडक, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवाको पहुँच विस्तारमा चुनौती सामना गर्दै आएको छ। यस्तो अवस्थामा प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त भए स्थानीयस्तरमा सेवा प्रवाह सुधार तथा विकास निर्माणका कामलाई अगाडि बढाउन सहज हुने गाउँपालिकाको अपेक्षा छ।



