काठमाडौँ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुर्याएको थियो। पुलको पर्वततर्फको पहुँचमार्ग बाढीले बगाएपछि १५ दिनदेखि यातायात ठप्प भएको थियो।
पुल सञ्चालन नहुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यानलगायत पश्चिम नेपालका दर्जनौँ जिल्ला प्रभावित भएका थिए।
सोमबार पुलको पहुँचमार्ग निर्माण भएपछि यातायात पुनः सञ्चालनमा आएको छ। दसैँको बेलामा मुख्य पुल नै बन्द हुँदा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो भने बागलुङ बजारमा महँगी बढेको थियो। सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीसहित दर्जनौँ कामदारले चौबीसै घण्टा काम गरेपछि सोमबार बिहान १० बजेदेखि पुल सञ्चालनमा आएको हो।
पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटिएका थिए। चाडपर्वका बेला यातायात बन्द हुँदा बागलुङको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको थियो। मालढुङ्गा पुल हुँदै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरू पनि आउन सकेका थिएनन्।
आइतबार घटस्थापनाका दिन बागलुङ कालिकामा आउने भक्तजनको चहलपहल पनि खासै हुन सकेन। विगतका वर्षमा घटस्थापनाको दिन मात्रै १० हजारभन्दा बढी भक्तजन आउने गरेका थिए। तर यस वर्ष दुई हजार पुग्नसमेत मुस्किल पर्यो। बाढीपहिरो र मालढुङ्गा पुल भत्किएपछि मन्दिर आउनेहरूको सङ्ख्या घटेको हो। पुलका कारण बाहिरी जिल्लाबाट पञ्चबलि दिन आउनेहरू समेत आउन नपाएको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले बताएका छन्।
पोखरा र पर्वतदेखि सिधा यातायात ठप्प हुँदा अत्यावश्यक सेवाका सामानसमेत ढुवानी हुन सकेको थिएन। मालढुङ्गादेखि मुस्ताङ सडक अझै सञ्चालन नभएकाले यो पटक मुक्तिनाथ र कागबेनीमा श्राद्ध गर्न जाने भक्तजन नभएका कारण कालिका मन्दिर सुनसान भएको हो। पुल सञ्चालनमा आएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।
बाढीपहिरोका कारण एक महिनादेखि सुस्ताएका बागलुङका होटल व्यवसायसमेत पुल ठप्प हुँदा चलायमान हुन सकेका थिएनन्। बाहिरी जिल्लाबाट पर्यटक नआउँदा होटल व्यवसाय सुनसान भएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताएका छन्। पुल सञ्चालनमा आएपछि विदेशी तथा स्वदेशी पर्यटक आउने आशा जागेको उनको भनाइ छ।
बागलुङ भित्रिने मुख्य पुल नै बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको थियो भने अब बिस्तारै पुरानै अवस्था फर्कने अपेक्षा गरिएको छ। मालढुङ्गा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको मुख्य केन्द्र हो। यही पुल हुँदै दुई वटा राजमार्गमा यात्रुहरूले आवतजावत गर्दै आएका छन्।



