काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना आज दिउँसो १२:३० बजेदेखि सुरू हुने भएको छ। मतगणना ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ।
आज हुने मतगणनाअन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदका मत गनिनेछन्। यी पदको मतपत्र नम्बर ११ रहेको समितिले जनाएको छ।
त्यसैगरी,सुदूरपश्चिम प्रदेशअन्तर्गत केन्द्रीय सदस्य (महिला), केन्द्रीय सदस्य (खुला), ३५ वर्षमुनिका युवा महिलातर्फ केन्द्रीय सदस्य र ३५ वर्षमुनिका युवा खुलातर्फ केन्द्रीय सदस्य पदको पनि मतगणना हुनेछ। यी पदका लागि मतपत्र नम्बर १९ रहेको सूचनामा उल्लेख छ।
समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत असोज २३ गते राति ९ बजेदेखि मतगणना सुरू भएको थियो। सोही निर्वाचन प्रक्रियाअन्तर्गत बाँकी रहेका पदहरूको मतगणना आज सुरू गर्न लागिएको हो।
हालसम्म सभापति,वरिष्ठ उपसभापति,उपसभापति,महामन्त्रीको मतगणना भइसकेको छ। सभापतिमा गगन कुमार थापा,वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा,उपसभापतिमा डा.चन्द्रकान्त भण्डारी,मधु आचार्य,पुष्षा भुसाल र विनोद चौधरी निर्वाचित भएका छन्।
यस्तै, महामन्त्रीमा प्रदीप पौडेल,उदय शमशेर राणा,डा.डिला संग्रौला (पन्त) विजयी भएका छन्।



