काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा एक करोड चार लाख ८५ हजार ४९८ रुपैयाँ सहयोग संकलन गरेको छ । मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा विभिन्न सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरूले सहयोग गरेका हुन्।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट उक्त रकम संकलन भएको हो । संकलित रकमबाट विपद्पछिको तत्कालीन राहत वितरण, सडक मर्मत तथा पुनर्निर्माणका काममा सहयोग पुगेको उनले बताए।
गाउँपालिकाका अनुसार विपद्बाट भएको क्षतिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि हालसम्म ६६ लाख ६५ हजार ५४३ रुपैयाँ खर्च भएको छ । यस वर्षको मनसुनमा आएको बाढीपहिरोले सडक, पुल, निजी घर, होटल, धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माणका काम अघि बढाइएको हो।
गण्डकी प्रदेश सरकारले पुनर्निर्माणका लागि दुई हजार ४७५ घनमिटर ग्याबिन जाली उपलब्ध गराएको थियो । विभिन्न जलविद्युत् आयोजना तथा नेपाली सेनाले श्रमदान र प्राविधिक सहयोगसमेत गरेका थिए।
मोदी र किम्रुङ खोलामा आएको बाढीपहिरोले क्षति पुर्याएको बिरेठाँटी–घान्द्रुक सडकको पुनर्निर्माण तथा संरक्षणमा ठूलो रकम खर्च भएको अध्यक्ष केसीले बताए । उनका अनुसार इन्धनमा १९ लाख ७९ हजार ६५० रुपैयाँ, ग्याबिन जाली निर्माणका लागि श्रमिक व्यवस्थापनमा ११ लाख ६४ हजार ९०४ रुपैयाँ तथा ढुङ्गा र ब्याकफिलिङ सामग्री ढुवानीका लागि ट्याक्टर, ब्याकलोडर र टिपर भाडामा १८ लाख ६९ हजार १८९ रुपैयाँ खर्च भएको छ।
त्यस्तै, अन्य उपकरण तथा निर्माणसम्बन्धी काममा आठ लाख ४६ हजार ५३५ रुपैयाँ, निर्माण सामग्री खरिदमा एक लाख ३० हजार १६८ रुपैयाँ, जिओटेक्सटाइल खरिदमा ८२ हजार ४९० रुपैयाँ र ग्याबिन जाली खरिदमा ९९ हजार ७९० रुपैयाँ खर्च गरिएको छ । उद्धार तथा पुनर्निर्माणमा खटिएका सुरक्षाकर्मी र सहयोगीका लागि खाना, खाजा तथा अन्य व्यवस्थापनमा समेत रकम खर्च भएको गाउँपालिकाले जनाएको छ।
बाढीले सडक र पुलमा क्षति, आवागमन अवरुद्ध
मोदी खोलामा आएको बाढीले गाउँपालिका–८ को बिरेठाँटी बजार क्षेत्रमा करिब १०० मिटर कालोपत्रे सडक कटान गरी बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । चिम्रुङ–स्याउलीबजार क्षेत्रमा पनि करिब १५० मिटर सडक क्षतिग्रस्त भएको थियो।
सडक तथा पुलमा भएको क्षतिका कारण गाउँपालिका–८, ९, १० र ११ का बासिन्दाको नयाँपुल, पोखरा तथा पर्वतातर्फको आवागमन प्रभावित भएको थियो । बाढीले स्याउलीबजार–हल्लाली जोड्ने झोलुङ्गे पुल, घुर्जुङ क्षेत्रका पुल तथा माता अन्नपूर्ण मन्दिर क्षेत्रमा रहेका फलामे पुलमा समेत क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ।
विपद्का कारण अन्नपूर्ण आधार शिविर जाने पर्यटकीय मार्गका विभिन्न संरचनामा क्षति पुगेपछि पर्यटन व्यवसायसमेत प्रभावित भएको थियो । पदमार्ग र सडक अवरुद्ध हुँदा होटल व्यवसायी, पर्यटक गाइड, भरिया तथा स्थानीय व्यापारीको आम्दानीमा असर परेको अध्यक्ष केसीले बताए।
“अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा अवरोध, पुलमा क्षति तथा तातोपानी कुण्ड नष्ट हुँदा आन्तरिक र बाह्य पर्यटकको आवागमन प्रभावित भएको थियो । सबैको सहयोगमा पदमार्गहरू खुला गरेका छौँ । अहिले पुनः पर्यटक आगमन सुरु भएको छ,” उनले भने।
मानवीय क्षति हुन पाएन
मनसुनजन्य विपद्बाट अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मानवीय क्षति नभए पनि भौतिक पूर्वाधारमा ठूलो नोक्सानी भएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए । उनका अनुसार पूर्वसूचना प्रणाली, स्थानीयस्तरमा गरिएको सचेतना तथा सुरक्षा निकायको समयमै परिचालनले मानवीय क्षति हुन नदिन महत्वपूर्ण भूमिका खेलेको थियो।
उनले बिरेठाँटी–घान्द्रुक सडकको स्थायी मर्मत, क्षतिग्रस्त पुलको पुनर्निर्माण, प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना सहयोग र जोखिम नक्साङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
त्यस्तै, भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली वडा तहसम्म विस्तार गर्न आवश्यक रहेको उनले उल्लेख गरे । ठूला पुनर्निर्माण आयोजना सम्पन्न गर्न प्रदेश तथा सङ्घीय सरकारसँग थप बजेट र प्राविधिक सहयोग माग गरिएको बरालले जानकारी दिए।



