काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएका सरकारी कोषमा हालसम्म १७ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा गरी कुल १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि तोकिएका नौ वटा वाणिज्य बैंकका खातामा मात्रै १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ जम्मा भएको छ। त्यसैगरी, वैदेशिक सहयोगका लागि हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालित अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर सङ्कलन भएको जनाइएको छ।
सरकारले कोषमा जम्मा भएको रकममध्येबाट बाढी तथा पहिरो प्रभावित क्षेत्रका लागि यसअघि नै १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।


