काठमाडौं । गएको असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले क्षति पुऱ्याएको बागलुङ र पर्वत जोड्ने महत्त्वपूर्ण मालढुङ्गा पुलको पहुँच (एप्रोज) सडक मर्मत गरी आजदेखि पुनः सञ्चालनमा ल्याइएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दसैँ अगावै पुल सञ्चालनमा ल्याई सर्वसाधारणको यात्रा सहज बनाउने लक्ष्यसहित प्राविधिक तथा निर्माण टोलीलाई निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार रातदिन नभनी गरिएको द्रुत मर्मतसम्भार पश्चात् मालढुङ्गा पुलको पहुँच सडक तयार भई आजबाट सञ्चालनमा आएको हो।
बाढीका कारण पुलका दुवैतर्फका पहुँच सडकहरू तहसनहस भएपछि सो क्षेत्रमा सवारी साधन तथा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा ठप्प बनेको थियो। सडक सञ्जाल विच्छेद भएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रत्यक्ष निर्देशनमा तत्कालै मर्मत तथा पुनःनिर्माणको काम तीव्र पारिएको थियो।
दसैँको पूर्वसन्ध्यामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलगायतका जिल्लाहरूलाई जोड्ने यो महत्त्वपूर्ण पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा चाडपर्वमा घर फर्किने सर्वसाधारणलाई ठूलो राहत मिलेको छ। मन्त्री लम्सालले निर्धारित समयभित्रै काम सम्पन्न गरी दसैँअघि पुल सञ्चालनमा ल्याउने लक्ष्य पूरा भएको जनाएका छन्।



