काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्न भएको निर्वाचनको सभापतिदेखि महामन्त्रीसम्मको नतिजा आइसकेको छ ।
सभापतिमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै गगन थापा निर्वाचित भएका छन् । ७ हजार १३ मत खसेकोमा ६ हजार ५८४ मत पाएर थापा विजयी बन्दा खड्कीले ३७५ मत ल्याए । यस्तै ५४ मत बदर भयो ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । खुला र समावेशी उपसभापति तथा खुला र महिला महामन्त्री प्रतिस्पर्धाबाट छानिए ।
तर, ६ जनाका लागि उपसभापति र महामन्त्रीमा २३ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदा २ जनाको चर्चा बढी भएको छ ।
समावेशी उपसभापतिमा जित्ने विनोद चौधरी तथा खुला महामन्त्रीमा हार्ने डा. सुनिल शर्माको चर्चा सामाजिक सञ्जाल र बजारमा बढी छ ।
समावेशी उपसभापतिमा जीवन परियार, फरमुल्लाह मन्सुर, चौधरी, रञ्जित कर्ण र सीता गुरुङबिच प्रतिस्पर्धा भएको थियो । चौधरी १ हजार ७४५ मत ल्याएर निर्वाचित हुँदा परियारले १ हजार ६५८, मन्सुरले १ हजार १४४, गुरुङले १ हजार ११२ र कर्णले ५६२ मत ल्याए ।
खुला महामन्त्रीमा २ पदका लागि भएको निर्वाचनमा ८ जनाबिच प्रतिस्पर्धा भयो । जसमा प्रदीप पौडेल ४ हजार १९४ र उदय शमशेर राणा २ हजार ३१० मत ल्याएर विजयी भए । तेस्रो मत ल्याएका डा. सुनिल शर्माले २ हजार २५७ मत ल्याए । डा. शर्माको राणाको भन्दा ५३ मतले मात्रै कम थियो ।
बाँकी उम्मेदवारहरू अमरसिंह पुन मगरले १ हजार १२५, गुरुराज घिमिरेले १ हजार ५१३, नैन सिंह महरले १ हजार १३४, शंकर तिवारीले १२३ र डा. शंकर उपाध्यायले ९७ मत पाए ।
ती मध्य चर्चा धेरै चौधरी र डा. शर्माको भयो । धेरैले एउटा व्यापारी जिते, अर्को व्यापारी हारे भनेर चर्चा गरिरहेका छन् ।
चौधरीका अस्पताल र बैंकदेखि चाउचाउसम्मका व्यापार छन् भने डा. शर्मा निजी अस्पताल सञ्चालकका रूपमा परिचित छन् ।
चौधरीमाथि राज्यको मूलधारबाट पछाडि पारिएका, सीमान्तकृत र अल्पसंख्यक वर्ग वा समुदायलाई राज्यका हरेक अंग र सेवामा समान पहुँच, प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नका लागि निर्धारण गरिएको आरक्षण प्रयोग गरेर उपसभापति बनेको भन्दै उनीबारे चर्चा गरिएको छ । ऐतिहासिक रूपमा विभेद र अवसरबाट वञ्चित भएका नागरिकहरूलाई विशेष अवसर प्रदान गरी समाजमा समानता र सामाजिक न्याय कायम गर्न बनाएको समावेशी कोटामा अर्बौँका मालिक प्रतिस्पर्धा गरेर जितेको भन्दै कतिपयले आलोचना गरेका छन् ।
फेसबुकमा सालिक राम ढकालले लेखेका छन्, ‘सुध्रिएको नेफोली कउरेसमा नेपालको एक्लो फोर्ब्सपति समावेशी कोटाको उम्मेदवार हुनुहुँदो रहेछ । पहिले उहाँ समानुपातिक सांसद हुनुहुन्थ्यो । समानुपातिक, समावेशी सिद्धान्तको धज्जी उडाउने यस्तै धन्दाले होला सुध्रिएको काउरेस बन्ने ! यो नेपाली समाजको अर्को विपत्ति हो !!’
डा. शर्माको बारेमा धेरैले उनको समाज सेवा हेर्दा जित्नुपर्ने भनेर चर्चा गरिरहेका छन् भने केहीले राजनीतिक परिपक्वता नभएको भनेर पनि टिप्पणी गरिरहेका छन् ।
असोज १८ गतेदेखि ५ दिन खुलामञ्चमा भएको महाधिवेशनमा कसैको बढी चर्चा थियो भने त्यो डा. शर्माकै थियो । उनको चर्चा देखेरै नेताहरूले महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणालाई जिताउन गोप्य चिट समेत बाडेका महाधिवेशन प्रतिनिधिहरू बताउँथे । एक महाधिवेशन प्रतिनिधिले रातोपाटीसँग भनेका थिए, ‘सबै नमिलेमा डा. सुनिल शर्माले निर्वाचन जित्न सक्ने देखियो । त्यसैले उदय र प्रदीपलाई मत हाल्नुहोला भन्ने आदेश आएको थियो । त्यही कार्यान्वयन गरे ।’
डा. शर्माले आफैले निर्वाचन प्रचारप्रसारका क्रममा आफूलाई हराउन षड्यन्त्र हुन सक्ने बताएका थिए । ‘मेरो माहोल राम्रो बनेको छ । त्यसैले मलाई हराउने षड्यन्त्र हुन सक्छ,’ शर्माले चुनाव प्रचार प्रसारका क्रममा भनेका थिए । हुन पनि त्यस्तै भयो, उनी ५३ मतले मात्रै पछि परे ।



