काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -४ मा दुर्घटना भएको छ। दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन्।
सोमबार बिहान साढे ७ बजेतिर काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो।
बसमा करिब ४०-४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल,चिसापानी पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य र मध्यम रहेको बर्दघाट प्रहरीले जनाएको छ।
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर HR 39 G 2876 मा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनापछि केही समय अवरोध बनेको पूर्व-पश्चिम राजमार्गमा यातायात पूर्णरूपमा सञ्चालनमा रहेको छ।



