Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेसको देउवा पक्षद्वारा कर्णालीका ३ जिल्ला अधिवेशन सम्पन्न, यी हुन् सभापति

कांग्रेसको देउवा पक्षद्वारा कर्णालीका ३ जिल्ला अधिवेशन सम्पन्न, यी हुन् सभापति

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कर्णाली प्रदेशका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। देउवा पक्षका नेता दमन शाहीका अनुसार मुगु, जुम्ला र हुम्लामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।

    कालिकोटमा मंगलबार जिल्ला अधिवेशन हुने भएको छ भने अन्य जिल्लामा वडा, पालिका र क्षेत्रीय अधिवेशनको काम भइरहेको शाहीले बताएका छन्। कात्तिक १५ गतेसम्म तोकिएको कार्यतालिकाभित्रै सबै जिल्लाका अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

    images

    मुगु जिल्ला सभापतिमा देउवा पक्षका तिलक मल्ल निर्वाचित भएका छन्। मल्ल विगतमा पनि देउवासँगै निकट मानिन्थे।

    मुगुमा पूर्वमन्त्री ऐनबहादुर शाहीले देउवा पक्षको नेतृत्व गरिरहेका छन्। कर्णालीमा देउवा पक्षका अन्य अधिकांश नेता गगन थापा समूहमा लागिसक्दा पनि ऐनबहादुर देउवासँगै रहेका छन्।

    मुगुमा देउवा पक्षबाट उपसभापतिमा रमेशकुमार मल्ल र रामबहादुर रावत, सचिवमा कुबेरजङ शाही र हरि रावल, कोषाध्यक्षमा धर्मेन्द्र शाही तथा सहसचिवमा जङ्गबहादुर ऐडी र शैलेन्द्र मल्ल निर्वाचित भएका छन्।

    त्यस्तै जुम्लामा नेत्रकला शाही सभापति निर्वाचित भएकी छन्। जुम्लामा कान्तिका सेजुवाल, ललितजङ्ग शाही लगायतका देउवा पक्षीय नेताहरू गगन थापातर्फ लाग्दा उनी भने देउवा समूहमा बसेर जिल्ला सभापति बनेकी हुन्।

    उता हुम्लामा सूर्यबहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनी यसअघि जिल्ला कोषाध्यक्ष थिए। हुम्ला पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हो। देउवा पक्षका जीवनबहादुर पछिल्लो समय गगन थापातर्फ खुलेका छन्। तर जिल्लामा उनी निकट मानिने नेता सूर्यबहादुर शाही भने देउवा पक्षबाटै जिल्ला सभापति बनेका हुन्।

    देउवा पक्षका नेता दमनबहादुर शाहीका अनुसार दैलेखमा पनि क्षेत्रीय अधिवेशनका कामहरू भइरहेका छन्।कर्णालीमा यसअघि देउवा पक्ष बलियो मानिन्थ्यो। पूर्णबहादुर खड्काको गृह प्रदेश भएकाले सोही समूहको वर्चस्व रहेको थियो।

    तर पछिल्लो समय खड्का आफू स्पष्ट रूपमा कतै नखुले पनि उनको समूहका धेरैजसो नेता तथा कार्यकर्ताहरू गगन थापातर्फ खुलेर महाधिवेशनमा सहभागी भइसकेका छन्।

    यसअघि शेखर कोइराला पक्षका नेता मानिने कालिकोटका भूपेन्द्रजङ शाही अहिले देउवातर्फ खुलेका छन् भने दैलेखका नारायण रेग्मी पनि देउवातर्फ लागेका छन्। रेग्मी यसअघि संस्थापनकै क्षेत्रीय महाधिवेशनमा सहभागी थिए, तर त्यहाँ विवाद भएपछि उनी देउवातर्फ लागेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार