काठमाडौँ। गोरखास्थित बुढीगण्डकीमा आएको बाढीका कारण १० जना मानिसहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीनहरूको खोजीमा सेना, प्रहरी र सशस्त्रका उद्धारकर्मी परिचालन गरिएको छ।
प्रभावित क्षेत्रबाट अहिलेसम्म४७ जनाको उद्धार गरिएको छ । खोज तथा उद्धारमा ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए।
उनका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सैनिक १२७ जना, प्रहरी ८३ जना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी १७७ जना खटिएका छन्।
नेपाली सेनाको ४ वटा हेलिकप्टर सो क्षेत्रमा परिचालन गरिएको छ । गोरखाको चुमनुब्रि गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बिचमा पहिरो गएर सुरुमा उइनगुलुङ खोला थुनिएको थियो।
आइतबार बिहान साढे ५ बजेतिर ठुलो आवाज सहित सिरिङ्गे हिमालबाट पहिरो खसेको हो । पहिरोका कारण बनेका अस्थायी बाँध भत्किएसँगै बुढीगण्डकीमा बाढी आएको हो । बाढीले तटीय क्षेत्रका ६ वटा पुल बगाएको छ।
गोरखाको आरुघाट गाउँपालिकामा रहेको मोटरेबल पुल बगाएपछि त्यहाँ बेलिब्रिज राख्नेबारे अध्ययन गर्न प्राविधिक टोली पठाइएको प्राधिकरणका सिइओ डा. उप्रेतीले जानकारी दिए । उनले भने, ‘आरुघाटमा ड्रोन सहितको प्राविधिक टोली पठाइएको छ।’



