Oct 28 2026 | २०८३ कार्तिक १२ गते

महाधिवेशनले मधेसमा फर्काउला कांग्रेसको साख ?

महाधिवेशनले मधेसमा फर्काउला कांग्रेसको साख ?

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएको छ । सभापति पदमा गगन थापा निर्वाचित भइसकेका छन् भने बाँकी पदहरूको मतगणना जारी छ।

    यतिबेला नेपाली राजनीतिमा कांग्रेस महाधिवेशनकै चर्चा छ । पुरानो दल भए पनि महाधिवेशनपछि कांग्रेस नयाँ रूपमा उदाएको विश्लेषकहरूको ठम्याइ छ । नवनिर्वाचित सभापति थापा स्वयंले पनि पार्टीमा ‘नयाँ अध्याय’ सुरु भएको उद्घोष गरेका छन्।

    images

    लामो समय कांग्रेसको राजनीति गरी पछि मधेसकेन्द्रित दल हुँदै हाल स्वतन्त्र रहेका खुसीलाल मण्डल भन्छन्, ‘एक समय यस्तो थियो, कांग्रेस भनेकै मधेस र मधेस भनेकै कांग्रेस हुन्थ्यो । तर, अहिले अवस्था पूरै उल्टिएको छ । मधेसले साथ नदिएपछि पार्टी निकै कमजोर बनेको छ।’

    स्थापनाकालदेखि नै कांग्रेसले सबैभन्दा दरिलो साथ मधेसबाटै पाएको थियो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायत शीर्ष नेताहरूको मुख्य राजनीतिक आधारभूमि (सेल्टर) नै मधेस थियो । उनीहरूले पटक–पटक मधेसबाटै चुनाव जितेर प्रधानमन्त्रीसम्म बनेका थिए।

    तर, अहिले मधेसमा एउटा सांसद जिताउन पनि कांग्रेसलाई हम्मेहम्मे परेको छ । लामो समय कांग्रेसमा रहेर हाल स्वतन्त्र जीवन बिताइरहेका जेपी गुप्ता भन्छन्, ‘मधेसमा कांग्रेस कमजोर हुनुको मुख्य कारण पार्टीसँग मधेसकेन्द्रित स्पष्ट एजेन्डा नहुनु नै हो।’

    कुनै पनि दल बलियो हुन स्थानीय संगठन सुदृढ हुनुपर्ने र विगतमा कांग्रेसको त्यस्तै बलियो पकड रहेको गुप्ता स्मरण गर्छन् । ‘पहिले हरेक जिल्ला र गाउँमा कांग्रेसका दिग्गज नेताहरू हुन्थे, जसको स्थानीय स्तरमा बलियो प्रभाव थियो,’ उनले भने, ‘अहिले त्यो अवस्था छैन, पुराना नेताहरू पनि प्रायः निष्क्रिय छन्।’

    सिरहाका बुद्धिजीवी डा. महादेव साहको बुझाइ पनि यस्तै छ । उनी भन्छन्, ‘अहिले पनि कांग्रेसका पुराना नेताहरू पार्टीमै छन् । छोरा–नाति पुस्ता अन्य पार्टीमा लागे पनि उहाँहरू कांग्रेसमै हुनुहुन्छ, तर निष्क्रिय बस्नुभएको छ।’ पार्टीभित्रको आन्तरिक विभाजन र अन्योलका कारण पनि धेरै नेता–कार्यकर्ता अलमलिएको उनको भनाइ छ।

    ‘पुराना नेताहरू अझै पनि शेरबहादुर देउवाकै पर्खाइमा देखिन्छन्,’ साहले थपे, ‘गगन थापाप्रति युवाहरूको आकर्षण बढे पनि पुराना पुस्ताका नेताहरू देउवातिरै ढल्किएका छन् ।’ हाल मधेस प्रदेश सरकारको नेतृत्व भने कांग्रेसकै हातमा छ।

    गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेसका ३२ प्रत्यक्ष सिटमध्ये कांग्रेसले जम्मा एउटा सिट मात्र जित्न सक्यो । मधेसमा कांग्रेसको यस्तो दयनीय अवस्था यसअघि कहिल्यै भएको थिएन । मधेसकै बलियो साथका कारण २०४८ सालयता कांग्रेस पटक–पटक सत्तामा पुगेको थियो । तर, २०५२ मा सुरु भएको माओवादी सशस्त्र द्वन्द्व र २०६२/०६३ मा कांग्रेसकै अगुवाइमा भएको शान्ति प्रक्रियापछि पार्टीले मधेसमा घाटा व्यहोर्नुपर्‍यो।

    माओवादीको उदयले देशैभर प्रभाव पारेकै बेला २०६३/०६४ को मधेस आन्दोलनले मधेसमा कांग्रेसलाई झनै कमजोर बनाइदियो । दुवै संविधानसभा निर्वाचनमा कांग्रेसले मधेसमा आफ्नो बिउ जोगाउन मात्रै संघर्ष गर्नुपरेको थियो।

    मधेसकेन्द्रित दलहरू कमजोर बन्दै गएपछि २०७४ को निर्वाचनमार्फत कांग्रेस फेरि उठ्न खोज्दै थियो । तर, २०८२ भदौमा भएको जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरूलाई ठुलो धक्का दियो । कांग्रेसको बलियो जग मानिएको मधेस पनि यसबाट अछुतो रहेन । अन्ततः फागुनको निर्वाचनमा कांग्रेस मधेसमा एक सिटमा खुम्चियो; यहाँसम्म कि विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा स्वयं सर्लाहीबाट पराजित हुन पुगे।

    महाधिवेशनले बढायो युवाको आकर्षण

    हालै सम्पन्न १५औँ महाधिवेशनपछि कांग्रेसमा युवा पुस्ताको आकर्षण बढेकाले धेरैमा नयाँ आशा पलाएको छ। जेपी गुप्ता भन्छन्, ‘सामाजिक सञ्जाल र सञ्चारमाध्यमका रिपोर्ट हेर्दा कांग्रेसप्रति युवा आकर्षण बढेको त देखिन्छ, तर त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा समयक्रममै थाहा होला ।’ मधेसमा पुराना नेताहरू सक्रिय नभएसम्म पार्टीलाई पुनरागमन गर्न कठिन हुने उनको विश्लेषण छ।

    पर्साका कानुन व्यवसायी वीरेन्द्र यादव भने महाधिवेशनपछि निकै आशावादी देखिएका छन् । उनी भन्छन्, ‘मधेस कांग्रेसको ऐतिहासिक गढ हो र आज पनि यसको जरा कायमै छ । जेनजी आन्दोलनपछि केही कमजोर देखिए पनि पार्टी जुनसुकै बेला फेरि उठ्न सक्छ।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दीर्घकालीन शक्ति बन्न नसक्ने दाबी गरे । ‘रास्वपाको स्थानीय स्तरमा संगठन बनिसकेको छैन । विगतमा माओवादी र मधेसवादी दलहरूको उदय हुँदा जसरी कांग्रेस कमजोर देखिएको थियो, अहिले रास्वपाका कारण त्यस्तै भएको हो,’ उनले भने, ‘तर, ती दलहरूजस्तै रास्वपा पनि स्थायी विकल्प बन्न सक्दैन, अन्ततः विकल्प कांग्रेस नै बन्नेछ।’

    थापा पार्टी नेतृत्वमा आएपछि मधेसका युवाहरूमा नयाँ उत्साह देखिएको छ । पछिल्लो माहोल हेर्दा आगामी दिनमा मधेसमा रास्वपा र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा हुने संकेत मिल्छ; किनकि अहिले पनि मतभारका आधारमा मधेसमा कांग्रेस दोस्रो स्थानमै छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार