Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बूढीगण्डकीमा बाढी : गोरखामा १० जना बेपत्ता, ६ वटा पुल र दर्जनौँ घर बगायो

बूढीगण्डकीमा बाढी : गोरखामा १० जना बेपत्ता, ६ वटा पुल र दर्जनौँ घर बगायो

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीका कारण गोरखा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने ६ वटा पुल र करिब ४० वटा घर बगेका छन्। बाढीले उत्तरी गोरखा जोड्ने सडक तथा पदमार्गका संरचनाहरू ध्वस्त बनाएपछि त्यस क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

    गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल ९पक्की० पुल, एउटा बेलिब्रिज र तीन वटा झोलुङ्गे पुल गरी ६ वटा पुल बगाएको छ। बाढीले आरुघाट बजारमा रहेको धादिङ–नुवाकोट जोड्ने पक्की पुलको गोरखातर्फको एउटा स्ल्याब बगाएको छ। यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ। नदीमा पानीको बहाव अत्यधिक बढेपछि दुवैतर्फ सडकको माथिल्लो भागसम्मै बाढी पसेको थियो।

    images

    यसैगरी, बाढीले धार्चे गाउँपालिका वडा नं। १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। माछिखोला र केरौँजा जोड्ने, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलहरू पनि बाढीले पूर्ण रूपमा बगाएको सहायक प्रजिअ शर्माले जानकारी दिए।

    बाढीका कारण मानव बस्तीमा समेत ठूलो क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगर क्षेत्रका करिब ३५ देखि ४० वटा घर बाढीले बगाएको छ। यसका साथै जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि बाढी पसेर व्यापक क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ।

    बाढीमा परेर सम्पर्कविहीन भएका १० जनाको खोजी कार्य जारी रहेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् भने प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार