काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा पानीसँगै गेग्रानसमेत मिसिएको पाइएको छ । बाढीका कारण जलमापन केन्द्र र पुलसमेत बगाएको तथा नदीको बहाव निरन्तर घटबढ भइरहेको अवस्थामा बूढीगण्डकी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बिहान करिब ८ः४५ बजेसम्म प्राप्त तथ्याङ्कमा बूढीगण्डकी नदीको जलसतह ८.५ मिटर पुगेको थियो । त्यसपछि बाढीले जलमापन केन्द्र र पुल बगाएका कारण थप तथ्याङ्क प्राप्त हुन नसकेको उनले बताए।
उनले भने, ‘करिब ८ बजेर ४५ मिनेट जाँदाखेरि बाढी साढे ९ मिट साढे ८ मिटरसम्म पुगेकोसम्म उक्त केन्द्रले तथ्याङ्क पठाएको र तत्पश्चात बाढीले हाम्रो केन्द्रसहित पुल बगाएको कारणले थप तथ्य प्राप्त भएको छैन । तथापि गेज रिडरबाट प्राप्त तथ्याङ्कअनुसार बाढी पुलभन्दा पनि दुई मिटरसम्म माथि आएको कारणले त्यहाँ जोखिम देखिएको छ।’
गेज रिडरबाट प्राप्त जानकारीअनुसार बाढीको सतह पुलभन्दा करिब १ देखि २ मिटर माथिसम्म पुगेको थियो । यसले नदी आसपासका क्षेत्रमा ठूलो जोखिम रहेको देखाएको पराजुलीको भनाइ छ।
बाढीले त्रिशूली नदीमा पार्न सक्ने प्रभावको आंकलन गर्दै बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको पराजुलीले जानकारी दिए । बूढीगण्डकी र त्रिशूली नदीको दोभान आसपासको क्षेत्र विशेष जोखिममा रहेको छ।
उनका अनुसार बाढीका कारण त्रिशूली नदीको बहाव करिब तीन मिटर बढ्नसक्ने अनुमान गरिएको छ । हाल त्रिशूलीको जलसतह सतर्कता तहभन्दा निकै तल रहेकाले तत्काल जलसतह खतराको तहमा पुग्ने सम्भावना कम देखिए पनि नदी कटानको जोखिम भने कायम रहने उनले बताए।
मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिम र मुग्लिनभन्दा तलको क्षेत्रलाई मध्यम जोखिममा राखिएको छ।
पराजुलीका अनुसार देवघाटमा हाल नदीको जलसतह करिब चार मिटर रहेको छ । त्यहाँ जलसतह थप साढे २ मिटर बढ्नसक्ने अनुमान गरिएको छ । यसअनुसार देवघाटमा जलसतह करिब साढे ६ देखि ७ मिटरसम्म पुग्नसक्ने देखिएको उनले बताए।
यो सतर्कता तहभन्दा तलै रहने अनुमान गरिए पनि जलसतहमा उल्लेख्य वृद्धि हुने भएकाले चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको उनले बताए।
बाढीको प्रकृतिबारे जानकारी दिँदै पराजुलीले प्राप्त भिडियो फुटेजमा पानीसँगै गेग्रान बगिरहेको देखिएको बताए। उच्च बहावसँगै गेग्रानसमेत मिसिएकाले बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको उनले जानकारी दिए।



