काठमाडौं । मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण असोज २४ र २५ गते काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरेर काम गर्ने जनाएको छ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ कन्डक्टर जडान गर्न लागेको हो।
आयोजनाअन्तर्गत मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब चार सय मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी छ। कम क्षमताको पुरानो कन्डक्टरको स्थानमा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गरिने प्राधिकरणले जनाएको छ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ।
प्राधिकरणका अनुसार स्तरोन्नति कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्नेछ। यसले उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न तथा विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्धारित समयमै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको प्राधिकरणले जनाएको छ। मौसम प्रतिकूल भएमा भने कार्यतालिका परिवर्तन हुन सक्नेछ।



