Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौँमा डेरा गरी बस्ने २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण

काठमाडौँमा डेरा गरी बस्ने २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण

शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत गत मङ्गलबारदेखि  विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण सुरु गरेको हो।

    केन्द्रका अनुसार असोज २२, २३ र २६ गते सञ्चालन हुने यस कार्यक्रममार्फत काठमाडौँ बाहिरबाट आई उपत्यकामा डेरा गरी बस्ने, स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत करिब २५० जना विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ।

    images

    एलपी ग्यासको बढ्दो मूल्य र यसको उपलब्धतामा बेलाबेला हुने कमीले विद्यार्थीलाई परिरहेको आर्थिक भार कम गर्न राहत महसुस गराउन, स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन र विद्युतीय चुलोको प्रयोगलाई थप विस्तार गर्न यो कार्यक्रम ल्याइएको केन्द्रले जनाएको छ।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोगले विद्यार्थीहरूको मासिक खर्चमा उल्लेख्य बचत हुने बताए । उनले खनिज इन्धनको आयात न्यूनीकरण गर्दै देशमा स्वच्छ ऊर्जाको खपत वृद्धि गर्न प्रत्यक्ष योगदान पुग्ने विश्वास व्यक्त गरे।

    स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जाको विकासमा सक्रिय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यसअघि पनि विद्यार्थीहरूलाई लक्षित गर्दै ७ हजारभन्दा बढी विद्युतीय चुलो वितरण गरिसकेको छ । त्यस्तै, स्थानीय तहसँगको साझेदारीमा हालसम्म १ लाख ७० हजार घरधुरीमा विद्युतीय चुलो प्रवर्द्धन गरिएको छ।

    हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लामा सञ्चालित स्वच्छ चुलो कार्यक्रममार्फत थप ५ लाख विद्युतीय चुलो वितरण गर्ने केन्द्रको लक्ष्य रहेको छ।

    सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदानमार्फत सन् २०३५ सम्ममा ऊर्जा क्षेत्रबाट हुने कार्बन उत्सर्जन घटाउन २१ लाख घरधुरी र १५ हजार संस्थागत विद्युतीय चुलो प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । सरकारको यो जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलन सम्बन्धी लक्ष्य हासिल गर्न विद्युतीय चुलो प्रवर्द्धनले ठुलो मद्दत पुग्नेछ।

    आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार नेपालमा अझै पनि कुल ऊर्जा खपतको ५८ प्रतिशत परम्परागत ऊर्जा र ३९ प्रतिशत व्यापारिक ऊर्जाको प्रयोग भइरहेको छ । नवीकरणीय ऊर्जाको हिस्सा करिब ३ प्रतिशत मात्र छ। हाल विद्युत् र नवीकरणीय ऊर्जा गरी जम्मा ११ प्रतिशत मात्र स्वच्छ ऊर्जा उपभोग भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार