Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए र नेपालमा यसको लगानी

एनआरएनए र नेपालमा यसको लगानी

शुक्रवार, बैशाख ७ २०८१
  • एनआरएनले मातृभूमिको मायामा स्वदेशमै लगानी गर्न चाहेको तर उचित वातावरण नभएको बताउँदै आएको छ । तर कुरा अनुसारका काम गर्नबाट भने एनआरएनए चुकेको प्रतीत हुन्छ । अहिलेसम्म एनआरएनएको लगानी कहाँ कहाँ छ भनेर हेर्ने हो भने यसका संस्थापक अध्यक्ष डा. महतोकोे लगानी अस्पतालमा छ । उनले अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल स्थापना र सञ्चालन गरेका छन् । यसअघि सानिमा बैंकमा लगानी गरेका महताले मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएपछि भने त्यसमै केन्द्रित भएका छन् । उनले यस हस्पिटलमा ७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताइन्छ ।

    संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा कान्तीपथमा शेराटन होटल निर्माणाधिन छ । उक्त पाँचतारे होटलमा घलेले ८ अर्ब लगानी गर्ने घोषणा गरेका थिए । भूकम्प तथा विविध कारण होटलको लागत बढ्ने अनुमान गरिएको छ ।

    images

    संघका अर्का पूर्व अध्यक्ष जीवा लामिछानेको पनि होटल क्षेत्रमा लगानी छ । उनले काठमाडौंमै होटल अकामा सञ्चालन गरिरहेका छन् । उनले यहाँ अर्ब हारहारीमा लगानी गरेका छन् । यो होटलमा संघको आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वारी कुमार पन्तको समेत लगानी रहेको बताइन्छ ।

    संघका वर्तमान अध्यक्ष भवन भट्टको होटल, वायुसेवा कम्पनी, जलविद्युत्, मदिरा उत्पादन गर्ने कम्पनी तथा सञ्चार माध्यमहरुमा समेत लगानी रहेको छ । उनले शिक्षा क्षेत्रमा समेत लगानी गरेका छन् । कति लगानी छ भन्ने चाहिँ उनी खोल्न चाहदैनन् । निकै समय अघिदेखि काभ्रेको धुलिखेलमा धुलिखेल माउन्टेन रिसोर्टमा उनले लगाी गरेका छन् ।

    सन् २०१२ मा एनआरएनएले ‘एनआरएन इन्भेष्टमेन्ट कम्पनी’ दर्ता गरेर लगानी गर्ने योजना बनाएको थियो । जसअनुसार हाइड्रोपावरमा एनआरएनले सामुहिक रुपमा लगानी शुरु ग¥यो । उपाध्यक्ष कुमार पन्त लमजुङको दोर्दी आयोजनामा एनआरएनले सामुहिक रुपमा गरेको लगानी बताउँछन् ।

    एनआरएनले सामुहिक रुपमा लगानी गरेको देखिने एक मात्रै आयोजना २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना हो । स्पष्ट रुपमा देखिने सामुहिक लगानी नभए पनि व्यक्तिगतहरुमा भने ठूलो रहेको एनआरएनएको दावी छ । एनआरएनएका प्रवक्ता भुवन घिमिरे भन्छन्, ‘गैरआवासीय नेपालीहरुले व्यक्तिगत रुपमा धेरै लगानी गर्नु भएको छ, तर तथ्यांकमा बोल्न सकिने अवस्था छैन ।’

    एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले अस्पतालमा एनआरएनले ठूलो लगानी गरेको बताए । त्यसबाहेक धेरै एनआरएनएहरुले बैंकहरुमा लगानी गरेको पनि उनको भनाइ छ । अध्यक्ष भट्ट एनआरएनमा नेपाली पासपोर्टवाहकहरुलाई गणना नगरिने भएकाले लगानी धेरै नदेखिएको बताउँछन् ।
    ‘कतिपयले आफ्नो लगानी भन्नै मान्दैनन्, फेरी एनआरएनएहरु नेपाली पासपोर्टबाहक पनि छन्’ उनी भन्छन्, ‘नेपाली पासपोर्ट भएकाहरुलाई नेपाली नै मानिन्छ, तर एनआरएन भनेका उनीहरु पनि हुन् ।’ नेपाली पासपोर्टबाहकले गरेको लगानीलाई बाहिरबाट आएको नमानिने हुँदा पनि तथ्यांक संकलन हुन नसकेको उनको भनाइ छ ।
    केही महिनाअघि काठमाडौमा भएको लगानी सम्मेलनमा एनआरएनएले नेपालको पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गरी सरकासँग सम्झौता गरेको थियो । विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने गरी भएको सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।
    विश्व सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा एनआरएनले साना–साना रकम समेत लगानी गर्नका लागि एक ‘फण्ड’ स्थापना गर्ने बताएको थियो । सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका प्रवक्ता भुवन घिमिरेले यस वर्षको विश्व सम्मेलनपछि नयाँ कम्पनी दर्ता गरेर फण्ड स्थापना गरिने बताए ।
    उपाध्यक्ष पन्तले नेपाल सरकारको समेत लगानीमा म्युचुअल फण्ड स्थापना गर्ने बताए । यसले विभिन्न देशमा रहेका गैरआवासी नेपालीलाई स–सानो पुँजी समेत लगानी गर्न सहज हुने उनको भनाइ छ ।
    फण्ड स्थापना गर्ने योजना नयाँ भने होइन । एनआरएनए स्थापनाकालमै फण्ड स्थापनाको बहस शुरु भएको थियो । संस्थाको संस्थापक अध्यक्षमा डा. उपेन्द्र महतो नेतृत्वको समितिले त्यसबेलै फण्ड स्थापना गर्ने बताएको थियो । तर, उनीपछि धेरैवटा नेतृत्व फेरिइसक्दा पनि फन्ड स्थापना हुन सकेको छैन । सन् २०१२ मा एउटा लगानी कम्पनी भने एनआरएनले दर्ता गरेको थियो । त्यो कम्पनीबाट अहिले केहि जलविद्युत् आयोजनाहरुमा लगानी गर्ने काम भइरहेको छ । 
    एनआरएनएले अहिलेसम्म नेपालमा गरेको लगानी रकमको आधारमा उल्लेख्य देखिएपनि उसले चाहने हो भने अझैं ठूलो मात्रामा लगानी भित्र्याउन सक्दछ तर उसले उचित वातावरण नभएको बहाना बनाउँदै आएको छ । यदि एनआरएनए साँच्चै देशभक्त हो भने उसले बिना बहना स्वदेशमा लगानी बढाउनु पर्दछ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार