काठमाडौँ । राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई शपथ ग्रहण गराएका हुन्। शपथसँगै समितिको पहिलो बैठक बिहीबार नै बसेको छ।
बैठकमा बोल्दै सभापति पौडेलले सचिवालयको कार्यसम्पादन नै समितिको सफलताको आधार भएको बताए। उनले सचिवालयलाई पूर्ण रूपमा चुस्त, दुरुस्त र स्फूर्त बनाउन आवश्यक स्रोत-साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए। समितिको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा बोल्दै उनले नतिजा ल्याउने मुख्य जिम्मेवारी सचिवालयको काँधमा रहेको औंल्याए। उनले सचिव र सहसचिवसहितका प्रशासनिक नेतृत्वप्रति ठूलो आशा र भरोसा व्यक्त गरे।
सभापति पौडेलले भने, ‘नतिजा सहजै आउने भनेको सचिवालयकै तर्फबाट हो। यो कामको संवेदनशीलतालाई ध्यानमा राखेर हाम्रो सचिवालयमा प्रतिस्पर्धी जनशक्ति र वित्तीय स्रोत-साधनको अभाव हुन दिइने छैन। सचिवालय चुस्त, दुरुस्त र स्फूर्त हुने कुरामा म पूर्ण विश्वस्त छु। प्रशासनिक नेतृत्वप्रति मैले ठूलो भरोसा राखेको छु। सचिवालयले जति समर्पण र मेहनत गर्छ, नतिजा पनि तदनुरूप नै आउँछ।’
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुर जिल्लामा ठूलो क्षति भएको थियो। जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत, क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनर्जागरण लगायतको समीक्षा गर्ने गरी यो संयन्त्र बनाइएको हो।
समितिमा सांसदहरू कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य छन्। प्रस्तावित समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ। यसअघि प्रतिनिधि सभाले पनि संसदीय विशेष समिति गठन गरेर काम अघि बढाएपछि राष्ट्रिय सभाले पनि छुट्टै समिति बनाएको थियो।



