Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेकपा संयोजन समिति बैठक भोलि, झलनाथको अभियानबारे छलफल हुने

नेकपा संयोजन समिति बैठक भोलि, झलनाथको अभियानबारे छलफल हुने

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न भोलि(शुक्रबार) केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशनको कार्यविधिको साथै वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

    images

    ‘बैठकले महाधिवेशनको कार्यतालिका सम्बन्धी कार्यविधि पारित गर्छ । दसैँ–तिहारको अवसरमा जमघट बढी हुन्छन्। त्यसैलाई मध्यनजर गरी हामीले अभियान चलाउन लागेका हौँ’, उनले भने।

    खनाललाई स्पष्टीकरण सोध्ने/नसोध्ने विषयमा बैठकले नै निर्णय गर्ने ज्वालाले बताए । असोज ६ गते बसेको बैठकले १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिना अभियान चलाउने निर्णय गरेको थियो।

    ‘पार्टीले कारबाही गरेका नेताहरूसँग मिलेर उहाँले समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। भोलिको बैठकमा आउनुभयो भने यसबारे उहाँ(झलनाथ)ले नै आफ्ना धारणा राख्नुहोला । आउनुभएन भने संयोजकले प्रष्ट पार्नुहुन्छ होला । अहिले नै स्पष्टीकरण सोध्ने विषयमा केही थाहा छैन’, उनले भने।

    समाजवादी जागरण घोषणा गरेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले असोज २० गते मानभवनमा खनालसँग डेढ घण्टा छलफल गरेका थिए । प्रचण्डसँगको भेटमा खनालले विभिन्न वामपन्थी नेताहरूको आग्रहमा समाजवादी जागरण अभियानको नेतृत्व गरेको तर पार्टी नछोडेको प्रस्टीकरण दिएका थिए।

    उनले आफू नेकपामै प्रतिबद्ध रहेको स्पष्ट पार्दै बाहिर भ्रमपूर्ण सूचना सम्प्रेषण गरी  दुष्प्रयास भएकोप्रति दुःख व्यक्त गरेका थिए। खनालले वामपन्थी शक्तिहरूबिचको वैचारिक बहसलाई अघि बढाउँदै छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई वैचारिक आधारमा एकताबद्ध गर्ने, वामपन्थी एकतालाई थप सुदृढ बनाउने अभियानको उद्देश्य रहेको स्पष्ट पारेका थिए।

    कुराकानीमा पनि उनले आफूले पार्टी नछोडेको जिकिर गरेका छन् । अभियान सम्बन्धमा संयोजक प्रचण्ड पनि सकारात्मक रहेको उनको दाबी छ।

    ‘समग्र वामपन्थी आन्दोलनलाई एकता र सुदृढ बनाउनका लागि समाजवादी जागरण अभियान घोषणा गरेको हो। वामपन्थी आन्दोलनलाई तोड्न होइन जोड्ने अभियानको मुख्य उद्देश्य हो’, खनालले भने, ‘समाजवादी जागरण अभियानबारे संयोजक पनि सकारात्मक हुनुभएको छ । मैले पार्टी छोडेको छैन । बाहिर जुन खालको दुष्प्रचार भएको छ, त्यसमा सत्यता छैन।’

    खनालको नेतृत्वमा विभिन्न वामपन्थी नेताहरूले शनिबार गरेको गोप्य भेलाले समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार