काठमाडौँ । भारतमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) विरुद्ध विरोध प्रदर्शन चर्किएको छ।
यसै क्रममा बिहीबार बेंगलुरुको फ्रिडम पार्कमा ‘पीपुल्स ट्रिब्युनल’ अर्थात् ‘जनताको अदालत’ आयोजना गरिएको हो।
कार्यक्रममा अभिनेता प्रकाश राज, युट्युबर तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्ति ध्रुव राठी, ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेसहित विभिन्न युवा संगठन र नागरिक समाजका प्रतिनिधि सहभागी भएका छन्।
कार्यक्रममा एसआईआर बाट प्रभावित भएको दाबी गर्ने नागरिकहरूले आफ्ना अनुभव र गुनासा राखिरहेका छन् । आयोजकहरूले मतदाता सूची पुनः परीक्षणका क्रममा देखिएका समस्या र त्यसले नागरिकको मतदान अधिकारमा पार्न सक्ने प्रभावबारे बहस गर्न ‘पीपुल्स ट्रिब्युनल’ आयोजना गरिएको बताएका छन्।
अभिनेता प्रकाश राजले यसअघि भिडियोमार्फत कार्यक्रममा सहभागी हुन नागरिकलाई आह्वान गरेका थिए । उनले यो अभियानलाई ‘लोकतन्त्र बचाउने लडाइँ’ भन्दै ठूलो संख्यामा मानिस सहभागी हुनुपर्ने बताएका थिए।
उनका अनुसार कार्यक्रममा सीजेपी संस्थापक अभिजीत दीपके, आशुतोष र सौरवसहित विभिन्न युवा संगठन तथा नागरिक समाजसँग आबद्ध व्यक्तिहरू सहभागी हुनेछन् । एसआईआर बाट प्रभावित विभिन्न क्षेत्रका नागरिकले पनि कार्यक्रममा आफ्नो कुरा राख्ने उनले बताएका थिए।
युट्युबर ध्रुव राठीले पनि भिडियोमार्फत आफू कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा यो अभियानलाई लोकतन्त्रसँग जोड्दै नागरिकको सहभागिताको आह्वान गरेका छन्।
यसैबिच सीजेपीले आफ्ना स्वयंसेवकहरूलाई विरोध कार्यक्रममा सहभागी हुनबाट रोक्न देशका विभिन्न भागमा हिरासतमा लिइएको आरोप लगाएको छ । सीजेपी का अनुसार १० अक्टोबरमा दिल्लीको जन्तर–मन्तरमा प्रस्तावित विरोध प्रदर्शनमा सहभागी हुन नदिन स्वयंसेवकलाई हिरासतमा लिइएको हो । संगठनले यस्तो कदमले विरोध झन् बढ्ने दाबी गरेको छ।
सीजेपीका आशुतोष रांकाले पनि १० अक्टोबरको प्रदर्शनअघि सरकारमाथि गम्भीर आरोप लगाएका छन् । उनले शान्तिपूर्ण प्रदर्शनमा बाधा पुर्याउन तथा प्रदर्शनकारीविरुद्ध हिंसा भड्काउन दक्षिणपन्थी समूहलाई दिल्लीमा भेला गराइएको दाबी गरेका छन् । उनले प्रस्तावित प्रदर्शन शान्तिपूर्ण हुने र प्रदर्शनकारीले हिंसाको बाटो नअपनाउने बताएका छन्।
भारतको निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्तविरुद्ध विपक्षी तथा विभिन्न नागरिक समूहले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । एसआईआरलाई लिएर मतदाता सूचीबाट नाम हट्ने, पुनरीक्षण प्रक्रियामा पारदर्शिता र नागरिकको मतदान अधिकार प्रभावित हुन सक्ने विषयमा आलोचना भइरहेको छ।
बेंगलुरुको ‘पीपुल्स ट्रिब्युनल’ पनि यही विवादको पृष्ठभूमिमा आयोजना गरिएको हो । कार्यक्रमका आयोजकहरूले एसआईआर सम्बन्धी नागरिकका गुनासा सार्वजनिक गर्ने र उनीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्य रहेको बताएका छन्।



