Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सस्तो अफर र अग्रिम भुक्तानीका नाममा सामाजिक सञ्जालमा ठगी धन्दा, सजग रहन प्रहरीको आग्रह

सस्तो अफर र अग्रिम भुक्तानीका नाममा सामाजिक सञ्जालमा ठगी धन्दा, सजग रहन प्रहरीको आग्रह

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । दसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन्।

    सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    images

    पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिको दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ। भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन्।

    प्रहरीका अनुसार हालै पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाउनु परेको घटना सार्वजनिक भएको छ। पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’ को प्रलोभन देखाई पटक-पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइएको थियो। सोही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।

    ‘कुनै पनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आइडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस्,’ डीएसपी पासवानले भने, ‘अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ।’

    प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र आधिकारिक दर्ता भएका विश्वासिला पोर्टलहरूबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ। साइबर अपराधबाट बच्नका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ। दर्ता नभएका अनलाइन पसलहरूलाई विश्वास नगर्ने, जथाभाबी अग्रिम रकम नपठाउने र शङ्कास्पद अफरहरूमा नलोभिने कार्यले मात्र यस्ता ठगीका घटनाहरूलाई न्यूनीकरण गर्न सकिने प्रहरीको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार