Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । चीनबाट खरिद गरी काठमाडौँ लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ । बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन्।

    असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले सडकखण्डमा क्षति पुर्‍याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो। सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठुला सवारीसाधनसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने भएपछि व्यवसायीले फल निःशुल्क वितरण गरेका हुन्।

    images

    व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा ९२४ क्यारेट ड्रागन फ्रुट थियो। लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को घाम र रातिको अत्यधिक चिसोका कारण फल बिग्रिन थालेपछि निःशुल्क वितरण गर्नुपरेको हो।

    सुनुवारका अनुसार जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन। सडकको अवस्थाका कारण ड्रागन फ्रुट बेनीसम्म पुर्‍याउनसमेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको हो।

    निःशुल्क ड्रागन फ्रुट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा जम्मा भएका थिए। व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकताअनुसार ड्रागन फ्रुट लगेका थिए।

    सडक अवरोधका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि बिग्रिएर खेर जानुभन्दा स्थानीयलाई निःशुल्क वितरण गर्नु उचित भएको सुनुवारले बताए। ड्रागन फ्रुट वितरण गरेपछि उनी काठमाडौँ फर्किने तयारीमा छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार