काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ । टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तिनै तहका सरकारका प्रतिनिधिहरूसँग विपद् र विपद्पछिका अवस्थाबारे जानकारी लिएको छ।
त्यसक्रममा खोज, उद्धारको अवस्था, राहत तथा अस्थायी आश्रयको स्थिति, आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वासका पक्षमा गरिएका तयारीसहित दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणमा अपनाइनुपर्ने विधिका बारेमा दिएका सुझावलाई सङ्कलन गरेको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन्।
सुझाव दिने क्रममा स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनःस्थापनामा जोड दिँदै तत्काल कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न आग्रह गरेका छन् । गत भदौ १० गते गएको विपद् र त्यसले पारेको असरका बारेमा अध्ययन गर्न पराजुलीको नेतृत्वमा समिति गठन भएको हो।



