काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक परिस्थिति निकै चुनौतीपूर्ण रहेको भन्दै आवश्यकता परे युवाहरू आन्दोलन गर्न र जेल जानसमेत तयार हुनुपर्ने विचार व्यक्त गरेका हुन्।
वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने आरोप लगाउँदै यादवले पार्टी, संविधान र प्रजातन्त्र जोगाउन कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको स्पष्ट पारे। उनले भने, ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र र संविधान जोगाउन भोलि तपाईं-हामीले आन्दोलन गर्न र जेल जानुपर्ने हुनसक्छ, त्यसका लागि तयार हुनुस्। यो सरकारले जतिबेला जे पनि संविधान र व्यवस्था मास्न सक्ने भएकाले तरुण दल सजग भएर बस्नुपर्छ।’
तरुण दलको संगठनभित्र सुदृढ एकता कायम राख्न आग्रह गर्दै उनले पार्टी र व्यवस्थाको रक्षामा युवाको भूमिका अहम् हुने उल्लेख गरे। नेपाली कांग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै यादवले आफ्नो उम्मेदवारीलाई सहयोग गर्न तरुणहरूलाई आग्रह गरे।



