काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने सङ्कल्पका साथ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको आगामी १५ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
देशलाई नयाँ गति दिन र पार्टीलाई सबल बनाउन तरुण पुस्ताको भूमिका महत्त्वपूर्ण हुने नेता गुरुङले बताएका छन्। १५ औँ महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै उनले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्। उनले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा विशेष जोड दिएका छन्।
कार्यक्रममा बोल्दै गुरुङले भने, ‘अहिले नयाँ नेपाल, नयाँ कांग्रेस र नयाँ उत्साहका साथ नेपाली कांग्रेसको ऐतिहासिक १५ औँ महाधिवेशन हुँदैछ। देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा सङ्गठित गर्दै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन आजको हाम्रो छलफल महत्त्वपूर्ण हुनेछ। आगामी महाधिवेशनमा हामी व्यापक छलफल गरेर साझा निर्णयमा पुग्नेछौँ। पार्टी सभापति गगन थापाको नेतृत्वमा हामी सबै एकताबद्ध भएर अघि बढ्नेछौँ।’
उनले भने, ‘यस १५औँ महाधिवेशनमा मैले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुलातर्फ आफ्नो उम्मेदवारी घोषणा गरेको छु, यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु। अब हामी तरुण दलका साथीहरूबिच थप छलफल गरेर सक्षम, योग्य र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारहरूलाई अघि बढाउनुपर्छ। यसपटक तरुण दल मात्र होइन, सक्षम र ऊर्जावान् नेतृत्वलाई प्राथमिकतामा राखेर निर्णय गरौँ।’
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भूमिका खेल्ने विश्वास गुरुङले व्यक्त गरेका छन्।



