काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणाले आगामी १५ औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका हुन्।
नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिङ्गो तरुण पङ्क्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा उत्रेको स्पष्ट पारेका छन्। तरुण दलको नेतृत्व गर्दा ललितपुरमा पार्टीले हासिल गरेको चुनावी सफलता स्मरण गराउँदै उनले आफ्नो कार्यक्षमता र स्वच्छ छवि नै दाबीको मुख्य आधार भएको बताएका छन्।
पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको उनको भनाइ छ। उनले जिल्ला र प्रदेश स्तरका समर्थक तथा तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारी जिताउन सक्रिय हुन आग्रह गरेका छन्।
कार्यक्रममा बोल्दै राणाले भने, ‘म तरुण दलको पूर्व अध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उठेको हुँ, तरुण साथीहरूको साथ नै मेरो मुख्य शक्ति हो। तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा कांग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ, त्यही अनुभवका साथ महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु।’
पार्टीभित्र युवाहरूको ऊर्जालाई सङ्गठित गर्दै वैचारिक तथा साङ्गठनिक सुधार गर्न आफू सक्षम रहेको दाबी पनि उनले गरेका छन्।



