काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवार मनोनयनपत्र दर्ता भएको छ । सोही क्रममा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ जनाले पनि विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
मंगलबार सम्पन्न मनोनयन दर्ताको क्रममा बागमतीका दुई पूर्वमुख्यमन्त्रीसहित विभिन्न मन्त्रालय सम्हालिसकेका पूर्वमन्त्रीहरूले समेत उम्मेदवारी दिएका छन्।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । सहमहामन्त्री पदको आदिवासी जनजाति क्लस्टरतर्फ लामाले उम्मेदवारी दिएका हुन्।
यसअघि केन्द्रीय सदस्य र विशेष महाधिवेशनमा सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका लामा पार्टीको केन्द्रीय तहमा थप बलियो पकड बनाउने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन् । उनले २०८१ साउनदेखि २०८२ साउनसम्म बागमती सरकारको नेतृत्व सम्हालेका थिए।
कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले पार्टीको केन्द्रीय राजनीतिमा प्रभाव थप मजबुत बनाउन तथा पार्टीलाई एकीकृत र बलियो बनाउन खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।
यसअघि २ कार्याकाल मकवानपुर जिल्ला सभापति, बागमती प्रदेश सभापति र मुख्यमन्त्रीको कार्यकाल पूरा गरिसकेका बानियाँ केन्द्रीय सदस्यको तयारीमा जुटेका हुन् । उनले २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती सरकारको नेतृत्व लिएका थिए।
खुला केन्द्रीय सदस्यतर्फ प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशी र पूर्वयुवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पनि उम्मेदवारी दिएका छन् । जोशीले २०७९ देखि २०८१ सम्म प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने महर्जनले २०८१ देखि २०८२ सम्म युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए।
दलित महिला सदस्यमा प्रदेश सभा सदस्य सुना परियारले उम्मेदवारी दिएकी छन् भने जनजाति क्लस्टरको केन्द्रीय सदस्य पूर्वखानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तिर्थ लामा र पूर्वउद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उम्मेदवारी दर्ता गराएका छन्।
खुला महिला क्लस्टरमा यमुना देवी श्रेष्ठ र समिता खड्गी श्रेष्ठले उम्मेदवारी दिएका छन् । बागमती प्रदेश भूगोलतर्फको महिला क्लस्टरमा काठमाडौँ महानगरपालिकाकी पूर्वउपमेयर एवं पूर्व सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले उम्मेदवारी दिएकी छन्।
बागमती प्रदेश भूगोलतर्फको खुला क्लस्टरमा पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले उम्मेदवारी दिएका छन्।



