काठमाडौं । गायिका एलिना चौहानले सञ्चालन गरेको व्यवसाय (लुगा पसल) रहेको घर किनेर उनलाई पसल सार्न बाध्य बनाएको भन्दै चलेको हल्लाप्रति उनका पूर्वपति विष्णु सापकोटाले कडा आपत्ति जनाउँदै खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूमाथि भइरहेको भ्रमपूर्ण प्रचारको स्पष्टीकरण दिएका हुन् ।
केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विष्णुले एलिनाको पसल रहेको घर किनेको र उनलाई त्यहाँबाट लखेटेको दाबीसहितका समाचारहरू भाइरल बनेका थिए । यस विषयमा व्यङ्ग्य गर्दै विष्णुले आफूले घर किनेको कुरा समाचार पढेर मात्र थाहा पाएको बताएका छन् ।
उनले लेखेका छन्, ‘तर म यति धनी पनि भइसकेको छैन कि आफूले घर किनेको खबरसमेत समाचार पढेर थाहा पाउनुपरोस् ।’
विष्णुले आफूमाथि बारम्बार हुने मिडिया ट्रायल संयोग मात्र नभएर सुनियोजित योजना भएको आशंका व्यक्त गरेका छन् । आफ्नो नाम बेचेर कन्टेन्टको पहुँच (रिच) र आम्दानी बढाउने माध्यम बनाइएको उनको आरोप छ । यसमा उनले एलिनातर्फ नै प्रत्यक्ष संकेत गरेका छन् ।
आफ्नो नाम जोडेर हुने चर्चाप्रति संकेत गर्दै उनले लेखेका छन्, ‘यदि मेरो नाम बेचेरै कसैको चूलो बलिरहेको छ भने, त्यसलाई पनि मैले पुण्यकै काम सम्झिनेछु । कहिले गीत चलाउन, कहिले जिन्दगी चलाउन त कहिले व्यवसाय चलाउन विष्णु नभई नहुने भएको हो त बजारमा ?’
सम्बन्ध समाप्त भइसके पनि हरेक कुरामा आफूलाई तानेर विवाद सिर्जना नगर्न उनले आग्रह गरेका छन् । कसैको कुभलो चिताउने फुर्सद र ऊर्जा आफूसँग नभएको स्पष्ट पार्दै विष्णुले अगाडि लेखेका छन्, ‘अब हरेक कुरामा मलाई जोड्न बन्द गरौँ । सकिइसकेको कुरालाई बारबार कोट्याउनुको कुनै तुक छैन । निस्वार्थ कर्म गरौँ फल आफैँ मिल्छ, हरेक विषयमा अनावश्यक कन्ट्रोभर्सी क्रिएट गर्नै पर्दैन ।’
सामाजिक सञ्जालमा देखिने कुरा र वास्तविकताबीच आकाश-जमिनको फरक हुने भन्दै उनले बिनाआधार फैलाइने हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
‘डलरे मिडिया’ को पछि लागेर कसैको व्यक्तिगत जीवन र चरित्रहत्या नगर्न चेतावनी दिँदै उनले भनेका छन्, ‘बिनाआधार गरिने आरोप, फैलाइने अफवाह र हतारमा गरिने निर्णयले कसैको व्यक्तिगत जीवन मात्र होइन, आफ्नै मानसिक स्वास्थ्य र समग्र समाजलाई समेत हानी पुर्याउन सक्छ । आलोचना स्वीकार्य छ, तर सत्य नबुझी गरिने चरित्रहत्या स्वीकार्य हुन सक्दैन ।’



