काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभर बाढी-पहिरोले वितण्डा मच्चाउँदा पनि सरकार निष्क्रिय बसेको भन्दै तीव्र आलोचना गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गण्डकी र कर्णाली लगायतका क्षेत्रमा नागरिकले सास्ती खेप्नु परेको तर राज्यको उपस्थिति नदेखिएकाले यसप्रति गम्भीर प्रश्न उठाएकी हुन्।
सांसद थापाले हालैको भारी वर्षाका कारण गण्डकी प्रदेशमा मात्रै २७ जनाको ज्यान गएको र ११ जना अझै बेपत्ता रहेको दुःखद् तथ्याङ्क प्रस्तुत गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिन्। बेपत्ताहरूको खोजी, उद्धार र राहतका लागि सरकारले हालसम्म चालेका कदमबारे संसद्मा स्पष्ट जवाफ दिन उनले माग गरेकी छन्। विशेष गरी खोज तथा उद्धार कार्यमा कति सुरक्षाकर्मी र कुन प्रविधि प्रयोग भइरहेको छ भन्नेबारे जिल्लागत र व्यक्तिगत प्रगति विवरण सार्वजनिक गर्न उनले सरकारलाई दबाब दिइन्।
आफ्नो निर्वाचन क्षेत्र दैलेखसहित कर्णालीका विभिन्न स्थानमा बाढी-पहिरोले सडक, पुल र विद्युत् लगायतका भौतिक संरचना ध्वस्त हुँदा नागरिकले ठुलो सास्ती खेप्नुपरेको प्रसङ्ग सांसद थापाले स्मरण गराइन्। चाडबाडको मुखमा मुख्य राजमार्गहरू अवरुद्ध हुँदा हजारौँ यात्रुहरू बिचल्लीमा परेको उल्लेख गर्दै उनले अवरुद्ध सडकहरूबारे एकीकृत सार्वजनिक सूचना प्रणाली नहुनु सरकारको ठूलो कमजोरी भएको औँल्याइन्।
बाढी-पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उपचार र पुनःस्थापनाका लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ भन्ने विषयमा तत्काल स्पष्ट पार्न सरकारसँग माग गरिएको छ। विपद्को पूर्वसूचना हुँदाहुँदै पनि जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न सरकार किन चुक्यो भन्दै उनले सरकारी कार्यशैलीमाथि कडा प्रश्न उठाइन्।
केवल आश्वासनको भरमा नपरी परिणाम देखिने गरी उद्धार तथा पुनःस्थापनामा जुट्न र निरन्तर सूचना प्रवाह गर्न उनले सरकारलाई सचेत गराएकी छन्।



