काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद खुसबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिहरूको औचित्यमाथि नै प्रश्न खडा गरेको बताएका छन्।
बिहीबारको बैठकमा बोल्दै उनले प्रविधिको तीव्र विकासले सांसदहरूलाई विस्थापित वा असान्दर्भिक बनाउन सक्ने भन्दै समयमै सचेत हुन सदनको ध्यानाकर्षण गराएका हुन्।
सांसद श्रेष्ठले एआईलाई एउटा यस्तो शक्तिका रूपमा चित्रण गरे जसलाई न त पार्टीको झण्डा चाहिन्छ, न त चुनावी क्षेत्र र कार्यकर्ता नै। एआईले सूचना सङ्कलन, तथ्याङ्क विश्लेषण र नीति निर्माणमा मानिसभन्दा कैयौँ गुणा छिटो र प्रभावकारी काम गर्न सक्ने क्षमता राख्ने उनको भनाइ छ।
संसद्मा बोल्दै सांसद श्रेष्ठले भने, ‘यदि एउटा मेसिनले हामीभन्दा राम्ररी जनताका समस्या बुझ्न सक्छ र छिटो समाधान दिन सक्छ भने, जनप्रतिनिधिका रूपमा हाम्रो भूमिका के रहन्छ? एआईले हामीलाई चुनावमा हराउनु पर्दैन, उसले हामीलाई असान्दर्भिक बनाइदिए पुग्छ।’
राजनीतिक दलका परम्परागत शैलीहरू जस्तै लामो भाषण, ठुला पोस्टर र घोषणापत्रहरू अबको एआई युगमा अर्थहीन हुनसक्ने भन्दै उनले चेतावनी दिए। एआईले सक्षम र अक्षमबिच स्पष्ट रूपमा भिन्नता छुटाउने भएकाले सांसदहरूले आफ्नो सोच र कार्यशैली बदल्नुपर्ने आवश्यकता उनले औँल्याए।
एआईको विकासलाई रोक्नु सम्भव नरहेको स्पष्ट पार्दै उनले मानवीय जबाफदेहिता र नैतिक निर्णयको पाटो भने मानिसकै हातमा रहनेमा जोड दिए। एआई केवल निर्णय लिने आधुनिक साधन मात्र हुनुपर्ने र त्यसको अन्तिम नैतिक जबाफदेहिता जनप्रतिनिधिले नै लिनुपर्ने उनको ठहर छ।



