काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकार जनताको अपेक्षाअनुसार काम गर्न पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि विकास निर्माण र भ्रष्टाचार न्यूनीकरणमा सरकारले अपेक्षित परिणाम दिन नसकेको बताएका हुन्।
सरकारको वर्तमान कार्यशैली र फितलो कार्यसम्पादनका कारण यसले प्रभावकारी काम गर्छ भन्ने जनताको आशासमेत क्षीण हुँदै गएको दाबी सांसद श्रेष्ठले गरे। संसदीय व्यवस्थामा संसद् नै सर्वोच्च निकाय हुने भए पनि सरकार संसद्प्रति जिम्मेवार र उत्तरदायी हुन नसकेको आरोप उनले लगाए। संसद्मा उठेका विकास निर्माण र सुशासनका महत्त्वपूर्ण प्रश्नहरूबाट सरकार पन्छिन खोजेको र संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न उद्धत रहेको भन्दै उनले तीव्र आलोचना गरे।
सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सांसद श्रेष्ठले भने, ‘सरकारको ६ महिनाको काम हेर्दा अब यसले केही गर्छ भन्ने आशा सकिइसकेको छ। संसदीय व्यवस्थामा सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ र संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्छ। तर सरकार संसद्प्रति उत्तरदायी नभई अध्यादेशमार्फत अघि बढ्न खोज्यो। सरकारको काम विगतका कमजोरी र गल्ती कोट्याउने मात्रै हो कि काम गर्ने पनि हो?’
विगतका सरकारका कमजोरी देखाएर मात्रै वर्तमान सरकारको दायित्व पूरा नहुने उल्लेख गर्दै उनले सरकारले नयाँ र परिणाममुखी काम के गर्यो भन्दै प्रश्न गरे। विगतको शासन प्रणाली र अघिल्ला सरकारलाई गाली गरेर उम्किनुभन्दा जनअपेक्षा अनुसार ठोस काम गर्नतर्फ ध्यान दिन उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।



