Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सपनाको उडान, काठको बाकसमा अवसान

सपनाको उडान, काठको बाकसमा अवसान

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिपरि चहलपहल सुरु हुन्छ । कसैको हातमा पासपोर्ट छ। कसैको हातमा टिकट । कसैको आँखामा उत्साह छ । कसैको आँखामा डर । कोही पहिलोपटक विमान चढ्दैछन्। कोही वर्षौंदेखि विदेश आउजाउ गरिरहेका छन् । आफन्तहरू विमानस्थलको गेटसम्म पुग्छन् । आमाले छोरालाई अँगालो हाल्छिन् । बुबाले काँध थपथपाउँछन् । श्रीमतीले धेरै कुरा भन्न खोज्छिन् । तर आवाज निस्कँदैन।

    छोराछोरीले बाबुलाई हेर्छन् । बाबु भन्छन्– ‘चाँडै फर्किन्छु ।’ कोही भन्छन्– ‘अब दुई वर्ष दुःख गर्छु । ऋण तिर्छु।’ कसैले घर बनाउने सपना देख्छ । कसैले छोराछोरीलाई राम्रो स्कूलमा पढाउने सपना । कसैले आमाको औषधीमूलो गर्ने सपना । कसैले गाउँको फुसको घरलाई पक्की बनाउने सपना । यी सपना बोकेर नेपाली युवा विमान चढ्छन्।

    images

    तर सबै सपना पूरा हुँदैनन् । कहिलेकाहीँ त्यही विमानस्थलमा अर्को दृश्य देखिन्छ । आकाशबाट विमान आउँछ । तर विमानबाट यात्रु झर्दैनन् । एउटा काठको बाकस बाहिर ल्याइन्छ । त्यो बाकसभित्र एउटा नेपाली हुन्छ । कुनै घरको छोरा । कुनै परिवारको श्रीमान् । कुनै बालकको बाबु । कुनै आमाको बुढेसकालको सहारा । विदेश जाँदा जीवित गएको मानिस, फर्किँदा बाकसमा बेरिएर आउँछ । यही हो, नेपाली वैदेशिक रोजगारीको सबैभन्दा पीडादायी पाटो।

    लाखौँको एउटै गन्तव्य

    नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या हरेक वर्ष ठुलो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कले यसको आकार देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जना श्रमिकले श्रम स्वीकृति लिएर विदेश गए। २०७९/८० मा सङ्ख्या बढ्यो । त्यो वर्ष ७ लाख ७१ हजार ३२७ जना विदेश गए । २०८०/८१ मा ७ लाख ४१ हजार २९७ जना पुगे । २०८१/८२ मा नयाँ रेकर्ड बन्यो । ८ लाख ३९ हजार २६६ जना श्रम स्वीकृति लिएर विदेश गए।

    आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १८७ जना विदेशिए । यी सङ्ख्या नयाँ र पुनः श्रम स्वीकृति लिने दुवैलाई समेट्छन् । सङ्ख्या ठुलो छ । तर सङ्ख्याभित्रका कथा अझै ठूला छन् । हरेक व्यक्तिको पछाडि एउटा परिवार छ। एउटा घर छ । एउटा सपना छ । एउटा बाध्यता छ । कसैको विदेश जाने निर्णय खुशीको हो । कसैको बाध्यता। कसैका लागि विदेश अवसर हो । कसैका लागि अन्तिम विकल्प।

    गत आव २०८२/८३ लाई महिनाअनुसार हेर्दा विदेशिनेको लहर रोकिएको देखिँदैन । साउनमा ६८ हजार ११० जना विदेश गए । भदौमा ६७ हजार ९७२ । असोजमा ६४ हजार ६३४ । कात्तिकमा ७३ हजार ९४ । मङ्सिरमा ६५ हजार ७०५ । पुसमा ६२ हजार ५५९ । माघमा ७० हजार ५०३ । फागुनमा ५२ हजार ९४४ । चैतमा ६१ हजार ८१९। वैशाखमा ७४ हजार ४२९ । जेठमा ६१ हजार ७२ । असारमा ६९ हजार ३६२ । वर्षभरिमा जम्मा ७ लाख ९२ हजार १८७।

    अर्थात् हरेक दिन ठुलो सङ्ख्यामा नेपाली श्रमका लागि देश छाडिरहेका छन् । विमानस्थलमा लाइन लाग्छ। म्यानपावर कम्पनीमा भीड लाग्छ । स्वास्थ्य परीक्षणका लागि अस्पतालमा भीड हुन्छ । पासपोर्ट कार्यालयमा भीड हुन्छ। भिसा लागेपछि परिवारमा खुसी हुन्छ । तर त्यही खुसीभित्र एउटा डर पनि लुकेको हुन्छ । ‘सकुशल फर्केला?’ यो प्रश्न विदेश जाने हरेक परिवारको मनमा हुन्छ।

    नेपालमा वैदेशिक रोजगारीलाई प्रायः व्यक्तिगत निर्णयका रूपमा हेरिन्छ । तर यो निर्णयको अर्थ सामाजिक कारण पनि त्यति नै छ । गाउँमा काम छैन । खेतीबाट पर्याप्त आम्दानी छैन । सहरमा स्थायी रोजगारी पाउन कठिन छ। व्यवसाय गर्न मनग्य पूँजी छैन । घर चलाउन पैसा चाहिन्छ । छोराछोरी पढाउन खर्च लाग्छ । बिरामी पर्दा उपचार महँगो हुन्छ । ऋण तिर्नुपर्छ । त्यसपछि विदेशको बाटो खुल्छ । विदेशमा कम्तीमा केही वर्ष काम गरेर पैसा कमाउने आशा गरिन्छ । देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा ठुलो सङ्ख्यामा युवा विदेशिएको तथ्याङ्कले देखाउँछ।

    तराईका चार जिल्लामा विदेशिनेको सङ्ख्या ठुलो

    विदेश जानेको लहर सबै जिल्लामा समान छैन । तराईका जिल्लामा यसको प्रभाव अझ ठुलो देखिन्छ । आव २०८२/८३ मा धनुषाबाट ३८ हजार ५५३ जना विदेश गएको तथ्याङ्क छ । झापाबाट ३५ हजार १२४ । मोरङबाट ३१ हजार ९९०। सिरहाबाट ३० हजार २११।

    यी जिल्लाका धेरै गाउँमा विदेश जाने घर भेटिन्छन् । कुनै घरमा दुई भाइ विदेशमा छन् । कुनै घरमा बाबु र छोरा दुवै विदेशमा छन् । कुनै घरमा श्रीमान् विदेशमा छन् । घरमा पत्नी र बच्चा छन् । कुनै घरमा वृद्ध आमाबुबा मात्रै छन्। विदेशबाट आएको पैसाले घर चल्छ । तर घरको एउटा कुर्सी खाली हुन्छ । खाना खाने बेला एउटा थाल कम हुन्छ। चाडपर्वमा एउटा अनुहार छुट्छ । यही हो, वैदेशिक रोजगारी भित्रको भित्री कथा।

    नेपाल सरकारको तथ्यांकले भन्छ नेपाली श्रमिकका परम्परागत गन्तव्य खाडी मुलुक हुन् । तर गन्तव्य विस्तार हुँदैछ। आव २०८२/८३ को तथ्याङ्कअनुसार यूएईमा १ लाख ८३ हजार ५८० जना पुगे । मलेसियामा १ लाख ३२ हजार ६४६। कतारमा १ लाख ३२ हजार ५१ । साउदी अरबमा १ लाख २४ हजार ५८३ । रोमानियामा पनि ३३ हजार ९२० नेपाली पुगे।

    यूएई अहिले नेपालीका लागि ठुलो श्रम गन्तव्य बनेको छ । मलेसिया र कतारमा पनि नेपालीको सङ्ख्या ठुलो छ। साउदी अरबमा पनि हजारौं नेपाली काम गरिरहेका छन् । युरोपतर्फ जानेको सङ्ख्या बढिरहेको छ । युवाको चाहना बदलिँदैछ । गन्तव्य बदलिँदैछ । तर विदेशिनुपर्ने कारण भने धेरैका लागि उस्तै छन्।

    सीप सिकेर जानू

    वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले सीप सिकेर जान आग्रह गर्दै आएको छ । सीप भएको श्रमिकले राम्रो काम पाउने सम्भावना बढी हुन्छ । आम्दानी पनि तुलनात्मक रूपमा बढी हुन सक्छ । आव २०८२/८३ मा विदेश जानेमध्ये ४ लाख ८२ हजार ६४३ जना दक्ष श्रमिक थिए । १ लाख ९० हजार २६४ जना अदक्ष थिए । १ लाख १४ हजार ६१४ जना अर्धदक्ष थिए । व्यावसायिक ३ हजार ५७० । उच्च दक्ष १ हजार ९६।

    दक्ष कामदारको सङ्ख्या ठुलो देखिए पनि अदक्ष र अर्धदक्ष कामदारको सङ्ख्या अझै उल्लेख्य छ । यसले अर्को प्रश्न जन्माउँछ । विदेश पठाउनुअघि नेपालमै सीप सिकाउने पर्याप्त व्यवस्था छ ? युवालाई राम्रो रोजगारीका लागि तयार पार्न सकिएको छ ? उनीहरूले पाउने पारिश्रमिक उनीहरूको श्रमअनुसार छ ? यी प्रश्नको उत्तर खोज्नु पनि वैदेशिक रोजगारीको बहसको विषय हो।

    विदेश जाने सबै फर्किँदैनन्

    विदेश जानेको सङ्ख्या ठुलो छ । तर विदेशमै मृत्यु हुने नेपालीको सङ्ख्या पनि सानो छैन । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ४७९ नेपाली श्रमिकको शव नेपाल ल्याइयो । २०७९/८० मा १ हजार २०८ । २०८०/८१ मा १ हजार ३४६ । २०८१/८२ मा १ हजार ५१७ । २०८२/८३ मा १ हजार ६१९।

    पाँच आर्थिक वर्षमा जम्मा ७ हजार १६९ वटा शव नेपाल ल्याइएको देखिन्छ । यो सङ्ख्या पढ्दा एक क्षण टक्क रोकिनुपर्छ । ७ हजार १६९ । यो अङ्क मात्र होइन । ७ हजार १६९ परिवार । ७ हजार १६९ घर । ७ हजार १६९ अधुरा सपना । ७ हजार १६९ शोक । कुनै परिवारमा आमा रोइन् । कुनै परिवारमा श्रीमती । कुनै परिवारमा साना छोराछोरी। कुनै परिवारमा बूढा बाबुआमा।

    विदेशबाट शव आउने दिन परिवारका लागि सबैभन्दा लामो दिन हुन सक्छ । विमानस्थलमा आफन्तहरू जम्मा हुन्छन्। कसैको हातमा कागज हुन्छ । कसैको हातमा मोबाइल । कसैले फोन गरिरहेको हुन्छ । कसैले चुपचाप आँसु पुछिरहेका हुन्छन् । शव निकालिन्छ । बाकस देखिन्छ । त्यहाँ कुनै आवाज हुँदैन । अघिल्लो दिनसम्म फोनमा बोलेको मानिस । अब बाकसभित्र हुन्छ।

    ‘घर फर्किन्छु’ भन्ने सपना लिएर गएको थियो तर फर्किँदा बोल्न सक्दैन । परिवारले अन्तिमपटक अनुहार हेर्छ । कसैले टाउकोमा हात राख्छ । कसैले छाती पिट्छ । कसैले विश्वास गर्न सक्दैन । कहिलेकाहीँ मृत्युको कारण पनि परिवारका लागि स्पष्ट हुँदैन।

    कामको अवस्था कस्तो थियो ? स्वास्थ्य अवस्था कस्तो थियो ? समयमै उपचार पायो कि पाएन ? सुरक्षित आवास थियो कि थिएन ? काम गर्ने ठाउँ कति सुरक्षित थियो ? यी प्रश्न शवसँगै घर आइपुग्छन् । तर धेरै प्रश्नको उत्तर कहिल्यै आउँदैन।

    जनसाङ्ख्यिक लाभ र विदेशिने युवा

    नेपाल अहिले जनसाङ्ख्यिक लाभको अवस्थामा छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार १५ देखि ५९ वर्ष उमेर समूहका मानिस कुल जनसङ्ख्याको करिब ६२ प्रतिशत छन् । यो उमेर समूह देशका लागि उत्पादनशील जनशक्ति हो । काम गर्न सक्ने उमेर । उत्पादन गर्न सक्ने उमेर । उद्यम गर्न सक्ने उमेर । कर तिर्न सक्ने उमेर । समाज र अर्थतन्त्र चलाउन सक्ने उमेर । तर यही समूहको ठुलो हिस्सा विदेशमा छ । यसले नेपालको गाउँ बदलिरहेको छ। खेतमा काम गर्ने हात कम भएका छन् । गाउँमा वृद्धवृद्धाको सङ्ख्या बढेको छ।

    बालबालिका हजुरबा–हजुरआमासँग बसिरहेका छन् । युवा भने कतारमा छन् । मलेसियामा छन् । यूएईमा छन्। साउदीमा छन् । युरोपमा छन् । यो अवस्थालाई कसरी बुझ्ने ? विदेशमा कमाएको पैसाले देशको अर्थतन्त्र चल्छ । तर देशभित्र काम गर्ने युवा कम हुँदैछन् । यही विरोधाभास नेपालको वैदेशिक रोजगारीको सबैभन्दा ठुलो प्रश्न हो।

    धेरै युवाको मनमा एउटै प्रश्न छ– यहाँ काम कहाँ छ ? कमाइ कति हुन्छ ? भविष्य के छ ? ऋण कसरी तिर्ने ? परिवार कसरी पाल्ने ? त्यसपछि उनीहरूले विदेशको बाटो रोज्छन् । विदेशमा जोखिम छ । तर नेपालमा अवसर नदेख्दा जोखिम पनि स्वीकार्न तयार हुन्छन्।

    युवाका लागि विदेश रोजाइ बन्नुमा यही मनोविज्ञानले काम गरेको देखिन्छ । तर विदेश पठाएर मात्र समस्या समाधान हुँदैन । देशभित्रै उत्पादन बढाउनुपर्छ । उद्यम बढाउनुपर्छ । सीप बढाउनुपर्छ । स्थायी रोजगारी बढाउनुपर्छ । श्रमको सम्मान बढाउनुपर्छ । तब मात्रै विदेश जाने निर्णय साँच्चिकै विकल्प बन्न सक्छ । बाध्यता होइन।

    चालू आव २०८३/८४ को सुरुआती दुई महिनाको तथ्याङ्कले पनि वैदेशिक रोजगारीप्रतिको निर्भरता घटेको देखाउँदैन। साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिए । भदौमा ६० हजार ४२ । दुई महिनामा करिब १ लाख ३० हजार नेपाली श्रमका लागि विदेशिए । यीमध्ये १ लाख १२ हजार ३१५ पुरुष र १८ हजार १६८ महिला छन् । साउनमा पुरुष ६० हजार ४७२ र महिला ९ हजार ९६९ थिए । भदौमा पुरुष ५१ हजार ८४३ र महिला ८ हजार १९९ । दुई महिनामै यति ठुलो सङ्ख्या । वर्षभरि कति पुग्ला ? यो प्रश्नको उत्तर वर्षको अन्त्यमा मात्र थाहा हुनेछ । तर सुरुआती आँकडाले एउटा कुरा देखाइसकेको छ । विदेशिने क्रम रोकिएको छैन।

    पासपोर्ट हातमा लिएर विमानस्थलतर्फ हिँड्ने युवालाई रोक्नुपर्छ भन्ने होइन । विदेश रोजगारी धेरै नेपाली परिवारका लागि आम्दानीको महत्वपूर्ण स्रोत हो । तर विदेश जानुअघि केही प्रश्न सोध्न आवश्यक छ । काम के हो ? पारिश्रमिक कति हो ? सम्झौता के छ ? बस्ने ठाउँ कस्तो छ ? बीमा छ ? कामको जोखिम कति छ ? आपतकालीन अवस्थामा कसलाई सम्पर्क गर्ने?

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई यी विषयमा पर्याप्त जानकारी हुनु आवश्यक छ । सीप सिकेर जानु पनि उत्तिकै महत्वपूर्ण छ । कागजात बुझेर जानु । सम्झौता पढेर जानु । आफ्नो अधिकार बुझेर जानु । समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने थाहा पाउनु । यी सामान्य कुरा जस्ता लाग्छन् । तर विदेश पुगेपछि यिनै कुरा जीवनरक्षक बन्न सक्छन्।

    विमानस्थलका दुई दृश्य

    एउटा दृश्य सम्झौं । बिहान त्रिभुवन विमानस्थल । युवा हातमा पासपोर्ट बोकेर उभिएको छ । आमा उसलाई हेरेर मुस्कुराइरहेकी छिन् । आँखा भने रसाएका छन् । छोरा भन्छ– ‘चिन्ता नगर्नू ।’ आमा भन्छिन्– ‘समयमा खाना खानू।’ विमान उड्छ । आमा आकाशतिर हेर्छिन्।

    अर्को दृश्य । केही वर्षपछि । त्यही विमानस्थल । आमा फेरि उभिएकी छिन् । यसपटक छोरा विमानबाट झर्दैन। काठको बाकस आउँछ । आमाको आँखामा आँसु छ । तर यो आँसु खुसीको होइन । छोरा फर्किएको छ । तर जीवित छैन । यही दुई दृश्यको बीचमा नेपाली वैदेशिक रोजगारीको कथा लुकेको छ।

    कहिलेसम्म ?

    पाँच वर्षमा ७ हजार १६९ शव नेपाल आए । त्यही पाँच वर्षमा लाखौं नेपाली विदेशिए । विदेशबाट अर्बौं रुपैयाँ नेपाल आयो । परिवार चले । अर्थतन्त्र चल्यो । घर बने । शिक्षा चल्यो । उपभोग बढ्यो । तर विदेशमा ज्यान गुमाएका परिवारको पीडा कसरी मापन गर्ने ? कुनै तथ्याङ्कले आमाको आँसु गन्न सक्दैन । कुनै रिपोर्टले बच्चाले बाबु खोजेको क्षण मापन गर्न सक्दैन । कुनै आर्थिक हिसाबले श्रीमान् गुमाएकी महिलाको जीवनको मूल्य निर्धारण गर्न सक्दिन। त्यसैले वैदेशिक रोजगारीलाई रेमिट्यान्सको चस्माबाट मात्र हेर्नु पर्याप्त हुँदैन । यो श्रमको विषय हो । यो सुरक्षाको विषय हो । यो परिवारको विषय हो । यो सामाजिक संरचनाको विषय हो । यो नेपाल देशको भविष्यको कस्तो बनाउने भन्ने विषय हो।

    त्यसैले विदेश जानेलाई सुरक्षित बनाऔं । देशमा अवसर बढाऔं । नेपालले तत्कालै सबै युवालाई देशमै रोक्न सक्दैन। रोक्नुपर्ने कुरा पनि होइन । विदेशमा अवसर छ भने नेपाली युवाले जान पाउनुपर्छ । तर सुरक्षित रूपमा । सम्मानका साथ । उचित पारिश्रमिकमा । सीपसहित । अधिकारसहित । साथै देशभित्र पनि रोजगारीका अवसर बढाउनुपर्छ। उत्पादन बढाउनुपर्छ । उद्योग खोल्नुपर्छ । कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । पर्यटनमा रोजगारी सिर्जना गर्नुपर्छ। सूचना प्रविधिको अवसर बढाउनुपर्छ । युवाको सीपलाई बजारसँग जोड्नुपर्छ । तब मात्रै विदेश रोजगारी बाध्यता नभई विकल्प बन्न सक्छ।

    अन्तिम दृश्य

    विमानस्थलको एउटा गेटबाट युवा बाहिरिन्छ । हातमा सुटकेस छ । मनमा सपना छ । पछाडि परिवार छ । अगाडि अपरिचित देश । ऊ जान्छ । घरबाट टाढा जान्छ । तर घरको आशा बोकेर जान्छ । उसले पैसा पठाउँछ । घर चलाउँछ । बच्चाको भविष्य बनाउँछ । बुढा आमाबुबाको औषधि किन्छन् । देशको अर्थतन्त्रमा योगदान गर्छ । तर अर्को गेटबाट कहिलेकाहीँ काठको बाकस पनि बाहिरिन्छ । त्यो बाकसमा पैसा हुँदैन । सपना हुँदैन । फोन हुँदैन। भविष्य हुँदैन । हुन्छ त एउटा शरीर मात्र । र हुन्छ, एउटा परिवारको जीवनभर नभरिने खाली ठाउँ।

    वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा पाँच वर्षमा ७ हजार १६९ शवको सङ्ख्या छ । तर त्यो आँकडाको पछाडि कति आँसु छन् ? कति रात निद्रा हराएका छन् ? कति बच्चाले बाबुलाई खोजेका छन् ? कति आमाले ढोकातिर हेरेर छोरा आउने आशा गरेका छन् ? कति श्रीमतीले जीवनभरको सहयात्री गुमाएका छन् ? यी प्रश्नको उत्तर कुनै तथ्याङ्कसँग छैन। त्यसैले विदेश जाने विमानको सङ्ख्या गन्ने देशले फर्किने काठका बाकस पनि गन्नुपर्छ । रेमिट्यान्सको हिसाब राख्ने देशले श्रमिकको सुरक्षाको हिसाब पनि राख्नुपर्छ । विदेश पठाउने देशले उनीहरूको सीपको मूल्य बुझ्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार