Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सांसद थापाको प्रश्न– जनप्रतिनिधि नै हिंसात्मक आक्रमणमा संलग्न छन्, पीडितले न्याय कहाँ खोज्ने ?

सांसद थापाको प्रश्न– जनप्रतिनिधि नै हिंसात्मक आक्रमणमा संलग्न छन्, पीडितले न्याय कहाँ खोज्ने ?

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले जनप्रतिनिधिबाटै भएको हिंसात्मक घटनाप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले जनप्रतिनिधिको नेतृत्वमा भएको कुटपिटको घटनाले विधिको शासनमाथि नै प्रश्न उठाएको बताए।

    सांसद थापाले पाल्पामा श्रमिकहरूमाथि भएको घटनाबारे जानकारी दिँदै भने, ‘हिजो मेरो जिल्ला पाल्पाका श्रमिकहरू कामको सिलसिलामा भेला भई कुराकानी गरिरहेको अवस्थामा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजु श्रेष्ठ र अर्जुन श्रेष्ठसहितको समूहले उनीहरूमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको छ।’

    images

    सांसद थापाका अनुसार घटनामा परी एक जनाको हात र खुट्टा भाँचिएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । जनप्रतिनिधिको नेतृत्वमै भएको हिंसात्मक घटना अत्यन्त गम्भीर र आपत्तिजनक रहेको थापाले बताए।

    उनले भने, ‘कामको सिलसिलामा जिल्ला बाहिर पुगेका श्रमिकमाथि जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण हुनुले शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने देखाउँछ। घटनामा संलग्न व्यक्तिहरू जनप्रतिनिधि र प्रहरीका समेत नजिकका मान्छे भएकाले निष्पक्ष छानबिन र कारबाही नहुने हो कि भन्ने शङ्का उत्पन्न भएको छ।’

    थापाले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे।  ‘यदि प्रहरी नै पीडकको संरक्षण गर्ने अवस्थामा पुग्यो भने सर्वसाधारणले न्याय कहाँ खोज्ने ? कानुनभन्दा माथि कोही हुँदैन भन्ने कुरा व्यवहारमै प्रमाणित गरियोस्’ उनले भने।

    उनले जनताको प्रतिनिधि हुनु भनेको जनतामाथि बल प्रयोग गर्ने लाइसेन्स नभएको स्पष्ट पार्दै राज्यको नजरमा सबै नागरिक बराबर हुनुपर्नेमा जोड दिए । उनले पीडितहरूले उपचार, सुरक्षा र न्यायको सुनिश्चितता हुनुपर्ने माग राख्दै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार